काठमाण्डौ,पुस १० गते ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपयोग गरेबापतको ४२ करोड ३३ लाख रुपैयाँ बक्यौता तिर्न उदयपुर सिमेन्टलाई पत्र काटेको छ ।

२०७६ सालदेखिकै बक्यौता राखेको उद्योगले पछिल्लो चार महिनामा भुक्तानी नै बन्द गरेपछि प्राधिकरणले लाइन काट्नेसम्मको चेतावनी दिएको हो । ‘मिटर रिडिङ गरेको ६०औं दिनसम्म महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा लाइन काटिनेछ,’ प्राधिकरणको प्रादेशिक कार्यालय विराटनगरले शुक्रबार पठाएको पत्रमा उल्लेख छ ।

प्राधिकरणको उदयपुर वितरण केन्द्र प्रमुख पंकजकुमार गोइतले ४ महिनादेखि उद्योगले महसुल नबुझाएपछि पत्र पठाएको बताए । ‘बक्यौता रकम २०७६ सालदेखिकै हो, थोरैरथोरै तिरेकाले जरिवाना बढ्दै गयो । चार महिनायता भुक्तानी नै बन्द भयो,’ गोइतले भने, ‘पटक–पटक पत्र पठाउँदा पनि बक्यौता तिर्न चासो नदिएपछि लाइन काट्ने चेतावनी दिएका हौं ।’ प्राधिकरणका अनुसार उद्योग चलाएको महिनामा साढे २ करोडदेखि ३ करोडसम्म विद्युत् महसुल उठ्ने गरेको छ । उद्योग नचल्दा करिब ७० लाख रुपैयाँ महसुल उठ्दै आएको छ । ई कन्तिपुर बाट