लहान, ९ असार । नेकपा माओवादी केन्द्रका नेता पुर्वमन्त्री मात्रिका प्रसाद यादवले विकास निर्माणमा सम्पूर्ण दलहरु एकजुट हुनुपर्ने बताउनुभएको छ ।  

सिरहाको मिर्चैया नगरपालिकाको ९ औं नगर अधिवेशनको आज उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री यादवले भन्नुभयो,‘‘चुनावमा आ–आफ्नो दलिय विचार सहित लड्नुस् तर विकास निर्माणको काममा सवै दल, नागरिक समाज, शिक्षक, उद्योग एकजुट भएर लाग्नुस् ।” अनि मात्रै नगर सम्बृद्ध हुन्छ उहाँको भनाई थियो ।

‘‘नगरको विकास गर्ने कुनै एउटै व्यक्ति वा पार्टीको मात्र जिम्मेवारी होइन”, उहाँले भन्नुभयो,‘‘ विकास सवैको साझा हो, त्यसैले कुनै पार्टी, व्यक्तिले निजी गर्ने होइन ।” हामी सवैको हो भन्ने भावनाका साथ लाग्नुहोस्, यहि पटक मिर्चैया नमुना बन्न सक्छ, उहाँको कथन थियो । 

शिक्षा, स्वास्थ्य, कृषिमा विशेष जोडा दिएर नीति तथा कार्यक्रम बनाउन आग्रह गर्नुहुँदै उहाँले विकासको मुख्य आधार शिक्षा, स्वास्थ्य, कृषि भएकाले यसको विकास भएमात्र समृद्ध मिर्चैयासँगै देश समृद्ध बन्न सक्ने बताउनुभयो ।

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले भौतिक पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारीलाई जोड दिने खालको नीति तथा कार्यक्रम बनाउन आग्रह गर्नुभयो । 

वर्तमान मेयर र उपमेयर पुनः दोहरीएकाले आफ्ना अधुरा योजनाहरुलाई पनि योजनामा समेट्दै अगाडीका योजनाहरु बनाउन सुझाव दिनुहुँदै मन्त्री साहले जनता अपेक्षा अनुसारको काम गर्न सकिए नगरको स्वरुप फेरिने र जनताको जिवनस्तर समेत उकासिने दाबी गर्नुभयो । नगरको विकासका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोग प्रदेश सरकारले गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो । 

कार्यक्रममा शिक्षा तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले शिक्षा क्षेत्रलाई विशेष ध्यानमा राखेर नीति तथा कार्यक्रम बनाउन आग्रह गर्नुभयो । 

स्थानीय तहकै मातहतमा शिक्षा आईसकेकाले यसलाई सवल बनाउन सोही अनुसारको नीति तथा कार्यक्रम आवश्यक पर्ने उल्लेख गर्नुहुँदै संघीय सरकारको पनि यसमा साथ रहने विश्वास व्यक्त गर्नुभयो । 

नगर प्रमुख श्रवण यादवको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा कार्यक्रममा पूर्व मन्त्री विश्वनाथ साह, महेन्द्र पासवान प्रदेश सभा सदस्य जगत प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो । 

नगरसभाको उद्घाटन कार्यक्रको आयोजन गरिएपनि नीति तथा कार्यक्रम भने भोली हुने बन्द सत्रमा मात्र प्रस्तुत गर्ने नगरपालिकाले जनाएको छ ।