राजविराज, ३ असार । सप्तरीको सुरुङ्गा नगरपालिकाका नगर प्रमुख गिता चौधरीले पुर्ण साक्षर नगर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एसआइएल ईन्टरनेशनको सहयोग तथा सप्तरीको सुरूङ्गा नगरपालिकाको समन्वय मा रूपान्तर नेपालद्वारा सुरूङ्गा नगरपालिकाको मधुपट्टीमा आयोजित मध्य पूर्वीय थारू साक्षरता परियोजनाको सामाजिक लेखापरिक्षण कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख चौधरीले नगरक्षेत्रभित्र साक्षरता अभियान चलाएर पुर्ण साक्षर नगर बनाउने बताउनुभयो ।
“साक्षर नगर बनाउने आफ्नो दायित्वबाट पछि हट्दिन”, नगरप्रमुख चौधरीले भन्नुभयो,“साक्षरता अभियान चलाएर नगरलाई साक्षर नगर बनाई छाड्छौं ।”
थारू भाषा लेखन शैलीको विकाससँगै थारु भाषाको शब्दकोष निर्माणमा जोड दिनुहुँदै उहाँले त्यसका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विगतको भन्दा पछिल्लो समय थारू समुदायमा भाषिक सचेतना बढ्दै गएको बताउनुहुँदै नगरप्रमुख चौधरीले भाषा र संस्कृतिको विकासका लागि नगरपालिकाले योजना बनाएर अघि बढ्ने बताउनुभयो ।
सो कार्यक्रममा नगर उपप्रमुख रूद्र बहादुर कार्की, एसआइएल ईन्टरनेशनलका नेपाल कोडिनेटर पृथ्वी चौधरी, रूपान्तर नेपालको कोडिनेटर जुवेल तामाङ्ग, समाजसेवी बिरेन्द्र चौधरी लगायतले बोल्नुभयो ।
सन् २०१९ मे देखि २०२२ सम्म सञ्चालन भएको परियोजना सञ्चालनका लागि ६१ लाख ४५ हजार ५०० रकम खर्च भएको र त्यसबाट ३०० जना भाषिक रुपमा साक्षर भएको जनाएको छ ।




















