जनकपुरधाम, २७ जेठ । बाढी र पहिरोका कारण बर्षेनी हुने धनजनको क्षतिलाई न्यूनिकरण गर्ने उद्देश्यले जनकपुरधाममा आज मनसुनजन्य प्रतिकार्य सम्बन्धि कृत्रिम अभ्यास सम्पन्न भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा जनकपुरधामस्थित श्रीनाथ गणको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मनसुनजन्य प्रतिकार्य सम्बन्धि कृत्रिम अभ्यास गरेको हो । 

जनकपुरधामस्थित गंगासागर पोखरीलाई जिल्लाका मुख्य नदीको रुपमा प्रतिकारात्मक रुपमा चार भागमा बिभाजित गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले बोडिङ्ग, लाइफ ज्याकेट लगायतको सामग्रीको प्रयोग गरी विपद्का समस्या पीडितलाई कसरी उद्धार गर्ने ? बाढीमा पसेकालाई उद्धार गरेर सुरक्षित स्थानमा कसरी लैजाने ? घाईतेहरुको प्राथमिक उपचार कसरी गर्ने ? उद्धारका क्रममा सुरक्षाकर्मीहरु आफु कसरी सुरक्षित हुने ? विपद्का बेला के के कुरामा ध्यान दिने लगायतका बिषय वस्तुहरुलाई समेटेर सुरक्षाकर्मीहरुले विपद् पुर्वाभ्यास प्रस्तुत गरेका थिए ।

मनसूनजन्य प्रतिकार्य सम्बन्धि कृत्रिम अभ्यास कार्यक्रममा बोल्नुहुँदै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले विपद् कसैलाई सोधेर वा बोल्ने नआउने भएकाले विपद्को समयमा सचेत भई त्यसबाट हुन नसक्ने क्षतिलाई कम गर्न सकिने बताउनुभयो । 

उहाँले जनकपुरधाम पनि बिभिन्न नदीहरुको कारण बाढीको जोखिममा रहेकाले नदी नियन्त्रणका लागि प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुहुँदै बाढीबाट हुने धनजनको क्षतिलाई रोक्न विपद् पुर्वाभ्यास कार्यक्रम महत्पपुर्ण कडी हुने विश्वास व्यक्त गर्नुभयो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले विपद्् व्यवस्थापनका लागि तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताउनुहुँदै स्थानीय तहहरु पनि विपद् न्यूनिकरणका लागि आवश्यक योजना, कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले स्थानीय तहको सरकारलाई पनि विपद् व्यवस्थापनमा सक्रिय बनाउन छिटै पालिका प्रमुखहरुको बैठक बनाउने जानकारी दिनुहुँदै मनसुन सक्रिय हुन थालेकाले विपद्को पुर्वतयारीमा जुट्न आग्रह समेत गर्नुभयो ।