राजविराज, २६ जेठ । खाद्य स्वच्छ दिवसको अवसर पारेर सप्तरीमा बजार अनुगमनलाई तिब्रता दिएको छ ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज र घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले बजार अनुगमनलाई तिब्र पारेको हो । 

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको हनुमाननगर बजार, शम्भुनाथ नगपालिकाको अर्नहा, बोदे बर्सान नगरपालिकाको बसाईन बजार, बिष्णुपुर गाउँपालिकाको खुरहुरिया बजार, राजगढ गाउँपालिकाको मलेकपुरस्थित बजारका पसल तथा होटलहरुमा अनुगमन गरेको जनाएको छ । 

यस्तै डाक्नेश्वरी नगरपालिकाको पत्थरगाडा, अमरलती बजार, बलान बिहुल गाउँपालिकाको चन्ही, मौवाहा बेल्ही बजार तथा सुरुङ्गा नगरपालिकाको धाँती बजारमा पनि पसल तथा होटल, रेष्टुरेन्टहरुमा अनुगमन गरी ठुलो परिमाणमा म्याद गुज्रेका समान, लेबल नभएको, म्याद गुज्रेका र भारतीय अवैध सामग्री नियन्त्रण लिई नष्ट गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिनुभयो । 

अनुगमनका क्रममा पसल तथा होटलहरुबाट ठुलो परिमाणामा म्याद गुज्रेको भुजिया, चाउचाउ, चिसो पेय पदार्थ, गुलकोज, बियर लयातका खाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको प्रमुख सिंहले बताउनुभयो । खाद्य स्वच्छता दिवसमा खासै औपचारिक कार्यक्रम नगरी बजार अनुगमनलाई प्रभाबकारी बनाईएको प्रमुख सिंहको भनाई छ । 

बिगत एक सातको अबधीमा जिल्लाका बिभिन्न बजारको करिब ५० भन्दा बढी पसलहरुका गरिएको अनुगमनका क्रममा अधिकांश पसलहरु बिना अनुमति सञ्चालनमा रहेको, ग्राहकहरुलाई बिल नदिने गरेको, म्याद गुज्रेको समानहरु समेत बिक्री बितरण गरिरहेको र मूल्यसूचीहरु नराखिएको पाईएको घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका प्रमुख सन्तोष कुमार साहले जानकारी दिनुभयो । पहिलो पटकका लागि व्यापारीहरुलाई कमिकमजोरी सुधार गर्न निर्देशन दिएको र अब उप्रान्त पुनः कमजोरी पाईए कार्वाही गरिने प्रमुख साहले बताउनुभयो । 

यस्तै खाद्य स्वच्छता दिवसको अवसरमा सप्तरीको बिष्णुपुर गाउँपालिकाको गोरगाामामा विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई खाद्य स्वच्छता सम्बन्धि प्रशिक्षण दिइएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा गोरगाामास्थित विद्यालयमा सम्पन्न कार्यक्रममा खाद्य स्वच्छता सम्बन्धि सहजीकरण गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सिंहले बताउनुभयो ।