राजविराज, १७ जेठ । सप्तरीको बलान बिहुल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष खेमचन्द्र यादवले जनतालाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले छुट्टै अस्पताल स्थापना गर्ने घोषणा गर्नुभयो ।
पदभार ग्रहण पश्चात पत्रकारहरुसँग कुरा गर्नुहुँदै अध्यक्ष यादवले स्वास्थ्यको दृष्टिकोणले पछाडी परेको आफ्नो गाउँपालिकाका हरेक जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन अस्पताल सञ्चालन गर्ने बताउनुभयो ।
‘‘बरिष्ठ चिकित्सकसहितको अस्पताल गाउँपालिकामा छैन्, जसका कारण यहाँका जनताहरु उपचारका लागि ठुलो रकम खर्चेर बाहिर जानुपर्ने बाध्यता छ”, गाउँपालिकाका अध्यक्ष यादवले भन्नुभयो,‘‘त्यसैले मेरो प्राथमिकतामा बरिष्ठ चिकित्सकसहितको अस्पताल सञ्चालन गर्नुपर्नेछ ।” सो अस्पतालबाट यहाँका जनतालाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइनेछ, उहाँको भनाई थियो ।
गाउँपालिकामा एम्बुलेन्स सुबिधा नहुदाँ कतिपय बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन समस्या भईरहेको पाईएकोले तत्काल गाउँपालिकाबाट एम्बुलेन्स खरिद गरिने उहाँले बताउनुभयो ।
गाउँपालिकाको पहिलो बैठकबाट तत्काल अत्यावश्यक औषधी खरिद गरी पालिकाभित्रका सबै स्वास्थ्य संस्थामा औषधी उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुहुँदै सबै नागरिकको स्वास्थ्यमा पहुँच अभिबृद्धि गराईने योजना बनाएको सुनाउनुभयो ।
भौतिक पुर्वाधारको दृष्टिकोणले पछाडी परेको गाउँपालिकाको हरेक सडकलाई पाँच बर्षभित्र पक्की बनाउने लक्ष्यका साथ कार्य अघि बढाउने उल्लेख गर्नुहुँदै आफ्नो कार्यकालमा गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा विकास गर्ने जानकारी दिनुभयो ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीको तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष यादवले विकास निर्माणमा पारदर्शीता र सुशासन प्रबद्र्धनलाई महत्वका साथ लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।




















