सिरहा,कार्तिक ३० गते । कार्तिक पूर्णिमाको अवसरमा शुक्रबार सिरहा र धनुषामा पर्ने कमला नदीमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुहरुको भिड लागेको छ । 

पूर्णिमाको अवसर पारेर सिरहा र धनुषा भएर बग्ने कमला नदीको उत्तराहनी, मरेवा, चिकना,सारस्वर, बनिनिया,बसविटा लगायतका विभिन्न घाटमा बिहानैदेखि स्नान गर्ने भक्तजनको भिड लागेको हो ।

बिहान सूर्योदय नहुँदै कमला नदीको विभिन्न घाटमा श्रद्धालु भक्तजनहरु कमलामा पुगेका हुन् । 

बिहिवार साँझ घरबाट धामी झाँक्री सहित हिँडेका सिरहा, सप्तरी, धनुषा, महोत्तरी र भारतका लगायत विभिन्न गाउँका अधिकांश ठाउँबाट स्नान गर्न कमलामा पुगेका छन् ।

धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कात्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा रहेकाले यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिन देखि नयाँ–नयाँ धामी झाँक्री बन्ने तथा तन्त्रमन्त्रमा सिद्ध पाउने जनविश्वास छ ।

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिनमा छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।

कार्तिक महिनाको पूर्णिमालाई कार्तिक पूर्णिमा, त्रिपुरोत्सव पूर्णिमा र कार्तिकस्नान पनि भनिन्छ ।