सिरहा प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई लहानबाट पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लहान नगरपालिका २२ लवटोलीका करिब २९ वर्षीय दिनेश यादवलाई शुक्रबार उनकै घरबाट तीन ग्राम छ सय मिलिग्राम खैरो ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

घरमै बसेर ब्राउन सुगर बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले यादवलाई उनकैै घरमा नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा पाइन्टको अगाडिपट्टिको गोजीमा सूर्य चुरोटको बट्टाभित्र कालो प्लाष्टिकमा दुई पोका ब्राउनसुगर बरामद भएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए । 

उनका अनुसार यादवको साथबाट ब्राउन सुगरसहित २१ हजार आठ सय २० रुपैयाँ नगद र एक थान मोवाइल बरामद भएकाले यादवलाई लहान प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको छ । 

बढ्दो लागूऔषध मुद्दा

सिरहा प्रहरीका अनुसार जिल्लामा हरेक वर्ष लागूऔषध सम्बन्धी मुद्दाको संख्या बढिरहेको छ । पछिल्लो तीन आर्थिक वर्षमा जिल्लाका विभिन्न प्रहरी युनिटहरुमार्फत् लागूऔषधसहित पक्राउ गरी पाँच सय एक लागूऔषध सम्बन्धी मुद्दा चलाइएको छ।

आर्थिक वर्ष २०७७र०७८ मा एक सय ५९, २०७८र०७९ मा एक सय ६९ र २०७९/०८० मा एक सय ७३ वटा लागूऔषध सम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयको मुद्दा सम्बन्धी तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार तीन आ।व।मा चार सय ७३ वटा मुद्दा फछ्र्यौट भई २८ वटा बाँकी रहेको छ ।