सिरहा,माघ ११ गते –  मधेस प्रदेशमा सवारी दुर्घटनामा परेर छ महिनाको अवधिमा २ सय ९२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ। पछिल्लो ६ महिनाको तथ्याङ्‍कमा प्रत्येक दिन एक जनाभन्दा बढी व्यक्तिको मृत्यु भइरहेको देखिन्छ।

मधेस प्रदेश प्रहरीले सार्वजनिक गरेको तथ्याङ्‍क अनुसार पछिल्लो ६ महिनामा सवारी दुर्घटनामा परेर प्रदेशमा २ सय ९२ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको श्रावणदेखि पुससम्ममा प्रदेशको विभिन्न जिल्लामा २ हजार ८ सय ५९ सवारी दुर्घटनामा २ सय ९२ जनाले ज्यान गुमाएका छन्।

प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीका अनुसार मृतक २ सय ९२ मध्ये २ सय ५२ पुरुष र ४७ जना महिला छन्। सोही अवधिमा दुर्घटनामा परेर ४ हजार २ सय ३८ जना घाइते भएका छन्। घाइतेमध्ये ८ सय ८० जना महिला छन्। प्रहरीले यस ६ महिनाको अवधिमा १ लाख ३६ हजार ४ वटा गाडीलाई कारवाही गर्दा ११ करोड ८९ लाख २५ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरीको तथ्याङ्‍क छ