सिरहा, फाल्गुन २० गते। सिरहा जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा भोलि विहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाभर रहेका ५ सय ३१ मतदान केन्द्रमा डोरी टाँग्ने, मतदान बुथ निर्माण गर्ने लगायतका आवश्यक व्यवस्थापनका कार्य सम्पन्न भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढंगले निर्वाचन सम्पन्न गराउन करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने सोही संख्यामा निर्वाचन प्रहरी पनि खटाइएको छ । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न चार सयभन्दा बढी स्थानमा सुरक्षा टोलीको उपस्थिति रहने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा कुल ४ लाख ५२ हजार ६ सय ४५ मतदाता रहेका चारवटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १ सय ३९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचनलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सम्बन्धित निकायले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।




















