सिरहा, माघ ६ । सिरहाका चारै वटा निर्वाचन क्षेत्रमा राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवारहरूले उल्लासमय वातावरणमा मनोनयन दर्ता गराएका छन्। आ–आफ्ना समर्थक र दलबलसहित विभिन्न दलका उम्मेदवारहरू मनोनयन दर्तामा सहभागी भएका हुन्।
मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीलगायतका दलका उम्मेदवारहरू सहभागी भएका छन् भने केही स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन्।
निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार मनोनयन दर्तालाई सहज बनाउन चारै निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ। जसअनुसार निर्वाचन क्षेत्र नं.१ का लागि लहानमा, क्षेत्र नं. २ का लागि धनगढीमा, क्षेत्र नं. ३ का लागि सिरहा सदरमुकाममा र क्षेत्र नं. ४ का लागि मिर्चैयामा निर्वाचन अधिकृत कार्यालय सञ्चालनमा रहेका छन्।
सिरहा जिल्लाको कुल जनसंख्या सात लाख ४८ हजार चार सय १६ रहेको छ। तीमध्ये चार लाख ५३ हजार ६ सय ४५ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।
मनोनयन दर्तासँगै जिल्लामा चुनावी माहोल तातिँदै गएको छ भने आगामी निर्वाचनप्रति मतदाताहरूको चासो पनि बढ्दै गएको देखिन्छ।


















