सप्तरी, २९ मङ्सिर । सप्तरीको रुपनी गाउँपालिका २ लौवापारका बिलट सदाको अनुहारमा यतिबेला बेग्लै सुखी देखिन्छ । 

      नागरिकता नहुदाँ थुप्रै समस्या र पीडा भोग्नु भएका सदाले ४६ बर्षको उमेरमा बल्ल नागरिकता पाएपछि उहाँकाृे अनुहारमा खुसी फर्किएको हो ।

     साहुमहाजमा हरवा चरवाको रुपमा काम गर्दै आएका सदाले नागरिकता पाउने आश मारिसक्नु भएको थियो । तर द फ्रिडम फन्डको सहयोमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीमार्फत सञ्चालित हरवा चरवा सशक्तिकरण कार्यक्रम सञ्चालन भएपछि भएको निरन्तरको प्रयास र  पहलाका कारण बल्ल नागरिकता पाएकोमा आफुलाई असाध्यै खुसी लागेको सदाले बताउनुभयो । वि.सं. २०३६ सालमा जन्मिनु भएका सदाले ४६ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट बंशज नागरिकता पाएको छ । 

     “नागरिकताका लागि पटक पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आएपनि बिभिन्न बहानामा नागरिकता पाउन सकेको थिएन्”,सदाले भन्नुभयो,“अहिले आएर बल्ल नागरिकता पाएकोमा असाध्यै खुसी लागेको छ ।” नागरिकता पाएपछि बल्ल नेपाली नागरिक भएको अनुभूति भईरहेको सदाको कथन छ । 

    “नागरिकता नहुदाँ राज्यको हरेक सेबा सुबिधा पाउनबाट बञ्चित थिए”, सदाले भन्नुभयो,“, घरको मुल व्यक्ति मै हुँ मेरो नागरिकता नहुदाँ श्रीमति र छोराहरुको समेत नागरिकता बन्न सकेको छैन् ।” बल्ल आफ्नो नागरिकता बनेपछि अब श्रीमति र छोराहरुको समेत नागरिकता बन्ने बाटो खुलेको सदाको भनाई छ । 

    गाउँमा दलितका लागि आउने सेवा सुबिधा पाउन नसकेपछि बल्ल नागरिकता महत्व बुझ्नु भएका सदा नागरिकता बनाउन धुप्रै ठाउँमा गुहारेको दुखेसो सुनाउनुभयो ।

    “पहिला पहिला नागरिकताको बिषयमा राम्ररी बुझेको थिएन्,”, सदाले भन्नुभयो,“ गाउँमा बिभिन्न संघसंस्थाहरुले दलित परिवारका लागि राहत लगायतका सेवा सुबिधा लिएर गाउँमा आउथ्यो, तर आफुसँग  नागरिकता नहुँदा ती सेवा सुबिधाबाट बञ्चित हुनुपरेको थियो ।” अनि बल्ल नागरिकता बनाउने चेतना आफुमा आएको सदाको कथन छ ।   

   आफ्नो देश भित्रै पनि गैर नेपालीको व्यवहार खेप्दै आएका सदाले नागरिकता बनाई दिन नेता देखि बिभिन्न संघ संस्थाका अगुवाहरुलाई गुहारेको तर नागरिकता बन्न नसकेको बिगत सम्झिँदै उहाँले भन्नुभयो,‘‘ तर गाउँमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र मार्फत हरवा चरवा सशक्तिकरण कार्यक्रम सञ्चालन भएपछि ती कार्यक्रमका सहजकर्ता दिदीले मेरो नागरिकताका लागि वडाअध्यक्षदेखि जिल्ला प्रशासन कार्यालय सम्म पहल गरिदिएपछि बल्ल नागरिकता पाएँ ।” अहिले नागरिकता पाएपछि आफु नेपाली भएको गर्व महसूस भइरहेको छ, उहाँले भन्नुभयो ।  

     निर्वाचनको समयमा आफ्नै वडाका धेरै व्यक्तिले जनप्रतिनिधि छनौट गर्न मत दिईरहदाँ टुलुटुल हेरिरहने सदाले नागरिकता पाएसँगै जिल्ला निर्वाचन कार्यालयमा पुगेर मतदाता परिचय पत्रका लागि फोटो समेत खिचाएको सुनाउनुभयो । 

     “अहिले सम्म अरुले मत खसालेको देखेको मात्रै थिए”, सदाले भन्नुभयो,“ अब आफु पनि मत खसालेर चाहेको जनप्रतिनिधि चुन्न पाउने भएको छु ।” अब आउने निर्वाचनमा योग्य जनप्रनिनिधिको पक्षमा मतदान गर्ने सदाको भनाई छ । 

      आफु अशिक्षित भएकोमा त्यति पश्चातापमा नरहेका सदालाई नागरिकताको अभावमा जन्मदत्र्ता बनाउन नसकेकोर  दुई छोरालाई पढाउन नसकेकोमा ठुलो पश्चाताप लागेको छ । “मेरो नागरिकता नहुदाँ छोरा छोरीको जन्मदत्र्ता बनाउन सकिएन्,”, सदाले भन्नुभयो,“विद्यालयमा भर्ना हुन जन्मदत्र्ता चाहिन्छ, दुई वटै छोराको जन्मदत्र्ता नुहदाँ विद्यालयमा भर्ना हुन सकेन् र कुनै पनि छोराले पढ्न पाएन् ।” पढन नपाएका छोराहरु मजदुरी गरेर परिवार पाल्दै आएको सदाले बताउनुभयो ।

      गरिबी र अशिक्षाले पिल्सिएको सदायको परिवारमा नागरिकतासँै बेग्लै सुखी आएको लौवापारका स्थानीय संजीव यादवले भन्नुभयो ।

    “यो भन्दा पहिला सदाको परिवार यस्तो खुसी देखिएको थिएन्,”, यादवले भन्नुभयो,“ अहिले सदासँगै उहाँको परिवारमा ठुलै उत्साह र सुसीयाली आएको हामीलाई आभाष भईरहेको छ ।” नागरिकतासँगै सदा परिवारको अन्य बाटोहरु समेत खुलेको यादवको कथन छ ।

     ‘‘नागरिकता प्रमाणपत्रका लागि सदासँग थुप्रै आधार र प्रमाणहरु हुदाँ हुँदै नागरिकता बन्न सकेको थिएन्” श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता पुनम चौधरीले भन्नुभयो,‘‘त्यही आधार र प्रमाणको आधारमा वडाअध्यक्ष र जिल्ला प्रशासन कार्यालयमा पहल गरेपछि सदाले नागरिकता पाएको छ ।”सबै कागजात हेर्दा नागरिकता पाउने आधार देखिएपछि पहल गरेर सदालाई नागरिकता दिलाउन सफल भएको चौधरीको कथन छ ।