वीरगञ्ज, ९ माघ । मधेश विश्वविद्यालयले यही शैक्षिक सत्रदेखि जनप्रशासन संकायतर्फ स्नातकोत्तर तह (एमपीए) र उद्यमशीलता बिषयको स्नातक तहको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । 

गत आर्थिक बर्ष २०८०÷८१ बाट कानून संकायतर्फ बीए एलएल बी र जनप्रशासन संकायतर्फ बिपीएम कक्षा सञ्चालन गर्दै आएको मधेस विश्वविद्यालयमा  विद्यार्थीको आकर्षण बढ्दै गएपछि यही शैक्षिक सत्रबाट जनप्रशासन संकायतर्फ स्नातकोत्तर तह (एमपीए) र उद्यमशीलता बिषयको स्नातक तहको कक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

‘‘ती दुबै संकायको कक्षा सञ्चालनका लागि आवश्यक पाठ्यक्रम निर्माण भईसकेको छ”, मधेस विश्वविद्यालयका रजिष्ट्रार विजय कुमार यादवले भन्नुभयो,‘‘ एमपीए कक्षाका लागि यही फागुन महिनाबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्छाै ।” 

उहाँका अनुसार आगामी शैक्षिक सत्रबाट कमाउँदै पढ्दै कार्यक्रम अन्तर्गत मधेश प्रदेश आठ वटै जिल्लाका सामुदायिक विद्यालयमा सञ्चालन गरिने उद्यमशीलता बिषयको स्नातक तहको पठनपाठनको तयारी भईरहेको छ । 

आर्थिक अभावका कारण स्नातक तह अध्ययन गर्न नसकेका ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरी उद्यमशीलता बिषयको कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुहुँदै रजिष्टार यादवले पहिलो बर्ष प्रदेशका चार वटा जिल्लामा र अर्काे बर्ष थप चार जिल्लामा गरी आठ वटै जिल्लाका सामुदायिक विद्यालयमा कक्षा सञ्चालन गरिने योजना रहेको जानकारी दिनुभयो । 

यस्तै मधेश विश्वविद्यालयले सङ्घीयता अध्ययन प्रशिक्षण केन्द्र स्थापना गरी सङ्घीयता बिषयको अध्ययन र अनुसन्धानको बिषयमा समेत कक्षा सञ्चालन गर्न लागेको छ । त्यसका लागि हालै मधेश प्रदेशको बारा, पर्साm रौतहट र धनुषा जिल्लामा सरकारी निकायका प्रमुख तथा कर्मचारी लगायतसँग सङ्घीयता बिषयको अध्ययन र अनुसन्धानको बिषयमा प्रारम्भिक चरणको छलफल समेत सकिएको रजिष्टार यादवले बताउनुभयो । 

यता मधेश विश्वविद्यालयले सञ्चालन गर्दै बीए एलएल बी र बिपीएम संकायमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । 

हाल मधेश विश्वविद्यालयमा बिए एलएलबी प्रथम बर्षमा एक सय १० र दोश्रो बर्षमा एक सय १० जना गरी दुबै बर्षमा दुई २० जना  र जनप्रशासन संकायतर्फ पहिलो बर्षमा २५ जना र दोश्रो बर्षमा २० जना गरी ४५ जना विद्यार्थी अध्ययनरत रहेको जनाएको छ ।  

मधेस विश्वविद्यालयलाई कानुन संकायतर्फ ११०, जनप्रशासनतर्फ ५५ वटा कोटा निर्धारण गरिएको छ । 

विश्वविद्यालयको तत्काल आफ्नो संरचनाहरु निर्माण भईनसकेकोले काठमाडौं विश्व विद्यालयको समन्वयमा यी दुबै संकायको पठनपाठन सञ्चालन गर्दै अएकोे छ । 

गत २०७९ बैशाख १४ गते मधेश प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले पहिलो एक बर्षमै दुबै संकायको पठनपाठन सुरु गरेको थियो । विश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङ्गको भवन लिजमा लिई कार्यालय सञ्चालन गर्दै आएको छ ।

अनुसन्धान र प्रशिक्षणको माध्यमबाट शिक्षण सिकाईलाई प्रभावकारी र गुणस्तरीय बनाउन सकिने मान्यता अनुरुप मधेश विश्वविद्यालयलाई मधेश प्रदेशमै पहिलो मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्रको स्थापना गर्ने लक्ष्य रहेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपकबहादुर शाक्यले बताउनुभयो । 

‘‘हामीले सञ्चालन गरेको कानुन र जनप्रशासन संकायको कक्षामा विद्यार्थीको आकर्षण देखेर उत्साहित भएका छौं”, उपकुलपति प्रा.डा शाक्यले भन्नुभयो,‘‘ त्यसैले निकट भबिष्यमै मेडिकल, ल्याब टेक्निसियन, फिजियोथेरापी लगायतका चिकित्सा र स्वास्थ्य सम्बन्धि कक्षा पनि चलाउने लक्ष्य राखेका छौं ।” तत्कालका लागि वीरगञ्जको नारायणी अस्पताल र पोखरियास्थित पोखरिया अस्पतालाई आधार बनाएर एमबीबिएस कक्षा सञ्चालन गर्ने योजना बनाएर प्राविधिक टोलीबाट सम्भाव्यता अध्ययन गरिने तयारी भएको उहाँको भनाई छ । 

मधेश विश्वविद्यालयको उच्च शिक्षालाई अनुसन्धामूलक बनाउने दृष्टिले एम फिल पिएचडी सँगै फार्मेसी र विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक शैक्षिक कार्यक्रमहरु पनि सञ्चालन गर्ने लक्ष्य रहेको उपकुलपति प्रा.डा शाक्यले बताउनुभयो ।

मधेस प्रदेशका ग्रामिण क्षेत्रका जनतालाई उच्च शिक्षामा समाहित गराउन शिक्षालाई शिक्षालाई श्रम, श्रमलाई सीपसँग र सीपलाई समृद्धिसँग जोड्ने उद्देउश्यका साथ दक्ष जनशक्ति उत्पादन गर्नका लागि मधेस प्रदेशमै पहिलो ‘‘मधेस स्कील स्कूल” स्थापना गर्ने पनि मधेस विश्वविद्यालयको प्रमुख उद्देश्य रहेको उहाँको कथन छ । 


भौतिक संरचना निर्माणका लागि डिपीआर बनाउँदै

पोलिटेक्निक, आईटि, व्यवस्थापन, पारामेडिकल, कृषि इन्जिनियरिङ्ग लगायतका प्राविधिक शिक्षाको माध्यमबाट मधेस प्रदेशलाई प्राविधिक शिक्षा हवको रुपमा विकास गर्ने उद्देश्यका साथ अघि बढ्ेको मधेस विश्वविद्यालयले जग्गा प्राप्तीसँगै आवश्यक भौतिक संरचनाका लागि डिपीआर तयारीमा जुटेको छ । 

मधेस विश्वविद्यालयले पर्साको बहुदरमाई नगरपालिका २ मा ३५ विघा र पोखरिया नगरपालिकामा १६ विघा ऐलानी जग्गा प्राप्त गरेको भने पर्साको पकाहाँ मैनपुर गाउँपालिकास्थित सुरजाहा कट्टीमठ्ठ (राधाकृष्ण मन्दीर) को २७ बिघा जग्गा पाउने आश्वासन पाएको छ । 

बहुदरमाई नगरपालिका २ मा प्राप्त भएको जग्गालाई सिमांकन गरी पिलर जडान गरिएपनि अझै स्वामित्व हस्तान्तरण हुन सकेको छैन् । ‘‘नगरपालिकाले जग्गाका लागि हामीलाई लेखेर दिईसकेको छ”, विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले भन्नुभयो,‘‘ जिल्लाको भोगाधिकार समिति, मधेस प्रदेश सरकारबाट निर्णय भएर फायल सङ्घीय सरकारको भुमी व्यवस्था गरिबी निवारण मन्त्रालयमा पुगेको छ, नेपाल सरकार  मन्त्रीपरिषद्बाट पनि जग्गाको स्वामित्व विश्वविद्यालयलाई दिने निर्णय हुने आश्वासन पाएका छौं ।” यहाँबाट निर्णय भएपछि जग्गा विश्वविद्यालयको स्वामित्वमा आउने र त्यस लग्तैबाट भौतिक संरचना निर्माणको काम सुरु हुने उहाँको भनाई छ । 

‘‘जग्गाको स्वामित्व विश्वविद्यालयको नाममा नआएसम्म हामीले त्यो जग्गामा कुनै पनि भौतिक संरचना बनाउन सक्दैनौं”, रजिष्ट्रार यादवले भन्नुभयो,‘‘भौतिक संरचना बनाउन जग्गा चाहिन्छ, हाम्रो नाममा जग्गा नआएसम्म बनाउन सकिदैन्, भौतिक संरचना नबनाएसम्म अन्य कक्षा सञ्चालन गर्न सकिदैन् ।” त्यसैले हामी जग्गा प्राप्तीसँगै भौतिक संरचना निर्माणको डिपीआर बनाउन लागेका छौं, उहाँले भन्नुभयो । 

यस्तै पोखरीया नगरपालिकाको १६ विघा जग्गाको स्वामित्व मधेस विश्वविद्यालयमा हस्तान्तरणका लागि वडा कार्यालयबाट सिफारिस भई अन्य प्रक्रियामा रहेको विश्वविद्यालयले जनाएको छ ।