राजविराज, १६ पुस । सप्तरीको शम्भुनाथ नगरपालिका ११ लहरिनयास्थित नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुलले विविध कार्यक्रम गरी आफ्नो तेश्रो स्थापना दिवस तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालय प्राङ्गणमा आयोजित मूल समारोहको एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाहले उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले शिक्षामा गरिएको लगानी नै वास्तविक लगानी भएको दाबी गर्नुहुँदै शिक्षामा गरिने लगानी परिवार, समाज र राष्ट्रको हितमा हुने बताउनुभयो ।
स्थापनाको छोटो अवधीमा विद्यालयले प्राप्त गरेको सफलता प्रशसंनिय रहेको बताउनुहुँदै उहाँले उक्त विद्यालयलाई देशकै नमुना विद्यालय बनाउन विद्यार्थी, शिक्षक र अभिभावक तीन वटै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्राधानाध्यापक चन्द्रशेखर देवले विद्यालयको अवस्था र सुधार्नुपर्ने पक्षका बिषयमा प्रमुख अतिथि तथा अतिथिहरुलाई अवगत गराउनुभयो ।
सो अवसरमा विभिन्न विद्यामा उत्कृष्ट गर्नुभएका शिक्षक, विद्यार्थी तथा विद्यालयमा खटिनु भएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको छ । यस्तै विद्यार्थीहरुले विभिन्न सांस्कृतिक गित, नृत्य समेत प्रस्तुत गरेका छन् ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुहुँदै विद्यालयका सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक खनालले देश विकासको मेरुदण्ड शिक्षा भएकाले सबैल शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरी, सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्य, विद्यालयको जग्गादाता जोगेन्द्र भगत लगायत अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
वि.सं. २०७७ सालमा स्थापना भएको सो विद्यालयमा हाल कक्षा ४ देखि कक्षा ७ सम्मको पठन पाठन हुँदै आएको छ भने आगमी बर्षहरु कक्षा थपिदै जाने योजना रहेको विद्यालयका प्रअ देवले बताउनुभयो ।




















