राजविराज, ३० कार्तिक । सप्तरी क्षेत्र नम्बर ३ (क) मा प्रदेशसभा सदस्यका लागि गठबन्धनका उम्मेदवारहरुलाई स्वतन्त्र उम्मेदवार पण्डित रामकुमार यादव (शास्त्री) ले कडा चुनौति दिईरहेका छन् ।

मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मत माग्न घरदैलोमा व्यस्त रहनुभएका स्वतन्त्र उम्मेदवार शास्त्रीले सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै आफु गाँस, वास कपास, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपुर्ति गराउने प्रतिबद्धताका साथ चुनाबी मैदानमा आएको र चुनाब जित्ने दाबी गर्नुभएको छ । 

आफु चुनाब जितेर गए जनतालाई गाँस, वास, कपास,बिजुली, खानेपानी, सिंचाई लगायतका आधारभूत आवश्यकता परिपुर्ति गराउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै मतदाताहरुको आकर्षण देखेर आफु उत्साहित भएको बताउनुभयो । 

राजनीतिक दलभित्र मौलाउँदै गएको भ्रष्टिकरणबाट जनतालाई मुक्त गराउन र जनताका आधारभूत आवश्यकताहरुलाई सहज रुपमा परिपुर्ति गराउने आफ्नो पहिलो प्राथमिकता रहेको उम्मेदवार शास्त्रीले बताउनुभयो । 

समाजमा भईरहेको अन्याय, अत्याचार, शोषण, दमन, रुढीबादिता, सम्प्रदायिकता, जातीपाती, धर्म संस्कृति एवंम् भेदभावलाई अन्त्य गरी धार्मिक, संस्कृति धराहरहरु सलहेश, दिनारामभद्री, वन्ठाराम, लोरिकमनियार जस्ता महापुरुषलाई उच्च सम्मान गर्ने आफ्नो प्रतिबद्धता रहेको उहाँले उल्लेख गर्नुभएको छ । 

यस्तै कृष्णाराम, वेनीबाबा, कारोबावा, तपसीबाबा, गोविन्दगणिनाथ, शसियामहाराज मठ मन्दीरहरुको संरक्षण गर्दै सम्पुर्ण मानव मात्रलाई धर्मको प्रत्याभूति गराउन आफु चुनाबी प्रतिष्पर्धामा आएको उहाँको भनाई छ । 

उहाँले राज्यको अनुभूति गराउँदै जनजनमा मानवीय गुण, विवेक, स्वालम्बन, कर्मयोग, अनुशासनको शिक्षालाई मजबुत पद्धतिको आधारमा गुरुकुल शिक्षालाई प्रत्साहित गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ । 

प्रदेशसभा सदस्यका लागि सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार शास्त्रीसहित पाँच दलिय गठबन्धनबाट कांग्रेसका मो. समिम, जसपा–एमाले गठबन्धनबाट एमालेका योगेन्द्र भगत लगायतका उम्मेदवारहरु चुनाबी प्रतिष्पर्धामा छन् ।