नरेशचन्द्र बरबरिया असाेज २०  । मधेशको प्रचलित  लोक नृत्यमध्ये झिझिया तान्त्रिक विधिअनुसार घटस्थापादेखि विजया दशमीसम्म  खेलिने झिझिया नाच बिहीवार दशमीको दिन सम्पन्न भएको छ । देवी स्तुतिको रुपमा यो झिझिया नाच  मधेशका बिभिन्न गाउँ वस्ती लगायत शहर बजारमा  दशैको रौनक  छाएको  देखियो । तान्त्रिक विधि अनुसार सन्तान र समाजको सुरक्षाका लागि झिझिया नृत्य गर्ने गरिएको धार्मिक  जनविश्वास छ भने अर्कोतिर जादु, टुनामुना, बोक्सी आदिको प्रभाव कम गर्न प्वाल पारिएको घैटामा दियो कलश राखेर महिला दिदी बहिनीहरूले टाउकोमा राखेर बेलुका घर घर गएर नाच्ने परम्परागत नृत्य हो । झिझिया लोक नाच सिरहा धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सासहितका जिल्लामा झिझिया नाच नाचिन्छ । झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो । बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा झिझियालाई मन्त्रसहित छेकबार गरिन्छ । मन्त्रिएपछि महिलाहरुको टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैँटो राखेर बिना हातको सहारा लिई नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले डीहिवारको पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरे लगत्तै झिझिया औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घर घरमा गएर नृत्य देखाउने परम्परा रहेको छ ।