जनकपुरधाम, १ भदौ । ठुलो सङ्ख्यामा भारतीय पर्यटकहरु बोकेर ‘‘भारत गौरब पर्यटक रेल” दोश्रो पटक भदौ ११ गते जनकपुरधाम आउन लागेको छ ।
जयनगर– जनकपुर –कुर्था रेलमार्गमा नियमित रेल सेवा सञ्चालन भएपछि पहिलो पटक गत असार ९ गते करिब ६०० को सङ्खयामा भारतीय पर्यटक बोकेर आएको ‘‘भारत गौरब पर्यटक रेल” दोश्रो पटक पनि ठुलो सङ्ख्यामा भारतीय पर्यटक लिएर आउन लागेको हो ।
नेपाल रेल्वे कम्पनि लिमिटेडका महाप्रबन्धक निरञ्जन कुमार झाको बिशेष पहलमा रामायण सर्किटमा सञ्चालन हुने उक्त रेल सेवा मार्फत भारतीय धार्मिक पर्यटकहरु दोश्रो पटक जनकपुरधाम आउन लागेको जनाएको छ ।
भारतको राजधानी नयाँ दिल्ली लगायतका शहरबाट भारतीय पर्यटकहरुलाई जनकपुरधामसम्मको यात्रा गराउने आफ्नो निरन्तरको पहलमा दोश्रो पटक यही अगस्त २७ तारिक अर्थात भदौ ११ गते शनिवार ‘‘भारत गौरब पर्यटक रेल” जनकपुरधाम आउन लागेको महाप्रबन्धक झाले जानकारी दिनुभयो ।
‘‘पहिलो पटक जस्तै दोश्रो पटक पनि भारत गौरब पर्यटक रेल ठुलो सङ्ख्यामा भारतीय पर्यटकहलाई लिएर आउने निश्चित भएको छ”, महाप्रबन्धक झाले भन्नुभयो,‘‘ हामी पर्यटकहरुको स्वागतको तयारीमा जुटेका छौं ।” अघिल्लो पटक जस्तै हामी भारतीय पर्यटकहरुलाई भव्य स्वागत गर्छाै, उहाँको भनाई छ ।
सो रेलले भारतको अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताउनुभयो ।
भारतीय राजदूतावासको समन्वयमा आउन लागेको सो ‘‘भारत गौरब पर्यटक रेल”मा करिब ६०० को सङ्ख्यामा भारतीय पर्यटक बोकेर आउने र सो दिन पर्यटकहरुले जनकपुरधामको बिभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको महाप्रबनधक झाको कथन छ ।
उक्त रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदा लगायतका बहुरुपी झल्को देख्न सकिने चित्रहरु राखिएको छ ।
युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदा स्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवर्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगल कालिन प्राचीन संरचना लगायत गुजरातमा अवस्थित स्टैच्यू अफ यूनिटी, दिल्लीमा रहेको नेसनल वार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्विरले सजाइएको जनाएको छ ।




















