राजविराज, २४ साउन । तलब समायोजनमा बिभेद गर्न खोजेको भन्दै आन्दोलनरत राजपत्र अनंकित कर्मचारीहरुले मंगलवार सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् ।
सप्तरी जिल्लास्थित बिभिन्न सरकारी कार्यालयमा कार्यरत अनंकित कर्मचारीहरुले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री, संघीय मामिला तथा समान्य प्रशासन मन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । गत २०७९ जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेट वक्तत्व्य मार्फत सबै कर्मचारीको तलब स्केल १५ प्रतिशत बृद्धि गरेको थियो ।
तर श्रावण १५ गत प्रतिनिधिसभा अन्तर्गतको उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मर्यादाक्रम अनुसार तलब समायोजन गर्न निर्देशनको आधारमा सरकारले मर्यादाक्रम अनुसार तलबमान निर्धारण गरिएको भएपनि मर्यादाक्रम र तलबमान सम्बन्धमा राजपत्रांकित र राजपत्र अनंकित तथा श्रेणी बिहीन कर्मचारीहरुको तलबमान बृद्धिमा एकरुपता नगरी आफुहरुमाथि ठुलो बिभेद गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
यस्तै ज्ञापनपत्रमा आफुहरुमाथि निरन्तर बिभेद र अन्यायपुर्ण व्यवहार अनुरुप हालै बढुवामा २० प्रतिशत मात्र छुट्टयाउन गरेको व्यवहारले बृति विकास रोक्ने र तलबभत्ता समेतमा मानमर्दन गरेको उल्लेख छ । आफुहरुले अघि सारेको माग सम्बोधन नभए अर्काे चरणको आन्दोलन गर्न बाध्य हुने चेताबनी समेत ज्ञापनपत्रमा दिईएको छ ।




















