जनकपुरधाम, २१ असार । नेपाल विद्युत प्राधिकरण ग्रिद शाखा ढल्केबर धनुषामा कार्यरत सव–इन्जिनियर अनिल कुमार यादवमाथि निर्घात कुटपिट गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन नेपाल राष्ट्रिय कर्मचारी महासंघ र संगठनले माग गरेका छन् । 

नेपाल राष्ट्रिय कर्मचारी महासंघ मधेश प्रदेश समितिका अध्यक्ष छठु चौधरी र नेपाल राष्ट्रिय कर्मचारी संगठन धनुषाका अध्यक्ष मुनेश्वर यादवले छुट्टाछुटै बिज्ञप्ती जारी गरी आफ्नो कोठाभित्र खाना खाईरहेका बेला सव–इन्जिनियर यादवलाई कार्यालय प्रमुख राजीव शर्माको योजनामा दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीहरुले कुटपिट गरेको भन्दै घटनाको छानबनि गर्न माग माग गरेका हुन् । 

यही असार १५ गते राती भएको कुटपिटबाट घाईते भएका सव–इन्जिनियर यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

सव–इन्जिनियर यादवमाथि भएको संघातिक हमलाको छानबिन गरी दोषीलाई कार्वाही गर्न बिज्ञप्तीमा माग गरिएको छ ।  

कार्यालयमा देखिएको बेथिति र आर्थिक अराजकता बारे आफुले कुरा उठाउँदा कार्यालय प्रमुख शर्माले इन्जिनियर मनिष शर्माको अगुवाईमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरु हरिबहादुर थारु, चतुरलाल थारु, पवन थारु, अभिराम थारु, अशोक चौधरी, समिर मगर लागतयलाई प्रयोग गरी कुटपिट गराएको सव–इन्जिनियर यादवले दुखेसो सुनाउनुभयो । 

‘‘म राती १० बजेतिर अफिसको क्वाटर डेरामा खाना खाईरहेको थिए,” सव–इन्जिनियर यादवले भन्नुभयो,‘‘त्यति खेरै डेराको मूलढोका खोल्न लगाई करिब आठ÷दश जना कर्मचारीको समुह भित्र प्रबेश गरी केही नसोधि, कुनै छलफलै नगरी मलाई निर्घात कुटपिट गरे ।” त्यो राती मेरा केही साथी मलाई नबचाएको भए, मलाई ज्यानै मारिदिन्थो, उहाँको दुखेसो थियो ।

यता नेपाल विद्युत प्राधिकरण ग्रिद शाखा ढल्केबर धनुषाका प्रमुख राजीव शर्माले सव–इन्जिनियर यादवमाथि कुटपिट भएको स्वीकार्दै घटनाको छानबिन गरिने बताउनुभयो । 

‘‘ कुटपिट भएको हो, कसले कुन कारणले कुटपिट गरेको हो त्यसबारेमा मलाई धेरै कुरा थाहा छैन्”, प्रमुख शर्माले भन्नुभयो,‘‘ म काममा व्यस्त भएर धेरै कुरा बुझ्न पाएको छै ।” फुसर्द भएपछि यस बिषयमा थप कुराहरु बुझ्छौं उहाँको भनाई थियो ।