सिरहा,माघ २५ गते – रौतहट जिल्लाको इशनाथ नगरपालिका—५ लक्ष्मीनियामा सोमबार केही महिलाहरुले सरस्वती माताको प्रतिमा विसर्जन गर्न जाँदै गरेको अवस्था ढुंगामूढा प्रहार गरेका छन् ।
इट्टा भट्टामा जिउंदो मानिसलाई जलाउने कार्यको मुख्य नाइकेको रुपमा कारागारमा बन्दी जीवन बिताइरहेका नेपाली कांग्रेसका निलम्वित प्रतिनिधि सांसद मोहम्मद आफताब आलमको निर्वाचन क्षेत्र रहेको सो क्षेत्रमा प्रत्येक बर्ष यस किसिमको विवाद उत्पन्न हुने गरेको छ । होली , छठ , महाबिरी झण्डा , नव रात्री तथा सरस्वती पूजामा राजपुर फरहदवा , रामपुर खाप , घिउरा , मठिया र लक्ष्मीनियामा केही व्यक्तिहरु अवरोध गर्ने जस्ता उछृंखल क्रियाकलाप गर्ने गरेको देखिएको छ ।
सोमबार प्रतिमा विसर्जन गर्न रोक लगाएपछि स्थानीय प्रसाशनको रोहवरमा मूर्ति सेलाउन जाने क्रममा केही महिलाहरुले प्रतिमा तथा विसर्जन कार्यमा सहभागी भएका युवा , महिला ,पुरुष तथा सुरक्षाको लागि परिचालन गरिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि घरबाट चप्पल प्रहार गरेको देखिएको छ । विद्या कि देवी माता सरस्वतीको प्रतिमा विसर्जन कार्यमा सहभागी भएका र सुरक्षाको लागि तैनाथ भएको सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गर्ने समूह र व्यक्तिहरुलाई पहिचान गरि कानूनी दायरामा ल्याउन स्थानीय प्रसाशन र प्रदेश सरकार सित जोडदार रुपमा माग स्थानीय अगुवाहरुले गरेका छन् ।
विसर्जनको क्रममा खटिएका सुरक्षाकर्मीले संयमतापूर्वक प्रतिमा विसर्जन गराएका हुन् ।स्थलगत रुपमा आफ्नो नेतृत्वमा गएका जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरेले घर तथा छतको माथिबाट महिलाहरुले सामाजिक सद्भाव बिगार्ने खालका कार्य गरे पनि प्रहरीको सक्रिय भूमिकाले कुनै अप्रिय घटना नभएको र कडा सुरक्षाको बीच प्रतिमा विसर्जनको कार्य सकिएको जानकारी दिए । पुरुषहरुले महिलाहरुलाई उचालेर सामाजिक सद्भावमा खल्बल्याउने आशंका प्रहरीले व्यक्त गरेको छ । कुनै समस्या उत्पन्न हुन् नदिनको लागि व्यापक रुपमा प्रहरी परिचालन गरिएको बताउंदै प्रहरी उपरीक्षक घिमिरेले यस्तो कार्य गराउने योजनाकारको खोज तलास गर्ने कार्य जारी रहेको बताए ।



















