जनकपुरधाम, २८ साउन । जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजनामा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी समुदायका सरोकारवालाका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पब्लिक हेल्थ रिसर्च एण्ड डेबलपमेन्ट सेन्टरको सहयोगमा जनकपुरमधाम उपमहानगरपालिका स्वास्थ्य शाखाद्वारा जनकपुरधाम उपमहानगरपालिका–१५ धल्केटोलस्थित धर्मशालामा आयोजित कार्यक्रममा वडा प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला समूह, युवा क्लब तथा विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्रकी इञ्चार्ज संगिता विश्वकर्माले समुदायमा कुनै पनि संक्रमण वा असामान्य स्वास्थ्य समस्या देखिनेबित्तिकै स्वास्थ्य संस्थालाई जानकारी गराउन सके रोग नियन्त्रण र व्यवस्थापनमा ठूलो सहजता हुने बताउनुभयो । उहाँले समयमै रोगको पहिचान र उपचार गर्न सके संक्रामक रोग अन्य व्यक्तिमा सर्नबाट रोक्न सकिने र सम्भावित प्रकोप वा महामारीबाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनिकरण गर्न सकिने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार प्रारम्भिक चरणमै सूचना प्राप्त भए तत्काल प्रतिकार्य गर्न सकिने भएकाले समुदायको सक्रिय सहभागिता अत्यन्त आवश्यक छ। “सम्भावित महामारी नियन्त्रण गर्न, तत्काल मृत्यु रोक्न र दीर्घकालीन रूपमा हुन सक्ने अपाङ्गता कम गर्न समुदायको भूमिका निर्णायक हुन्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल पब्लिक हेल्थ रिसर्च एण्ड डेबलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत लेखनाथ यादवले समुदायमा हुने विभिन्न गलत गतिविधि, महिला हिंसा, बालहिंसा तथा सामाजिक विकृतिबारे सम्बन्धित निकाय र प्रहरीलाई समयमै जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । गलत सोच र व्यवहार परिवर्तनका लागि मनोपरामर्श तथा जनचेतनामूलक गतिविधि आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले विगतमा संक्रामक रोगका कारण बालबालिकाले समेत ज्यान गुमाउनुपरेको अवस्था स्मरण गराउँदै समुदायस्तरबाटै रोग नियन्त्रणको पहल गर्नुपर्ने धारणा राख्नुभयो । जनस्वास्थ्यसँग सम्बन्धित अनपेक्षित घटना, संक्रामक रोग तथा त्यसका लक्षणहरूको तथ्यांक निरन्तर रूपमा संकलन र सूचना प्रवाह गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो।

अभिमुखीकरणमा सहभागीहरुलाई संक्रामक रोगका प्रारम्भिक लक्षण पहिचान गर्ने, समुदायमा असामान्य स्वास्थ्य घटना देखिए तत्काल स्वास्थ्यकर्मीलाई खबर गर्ने, सतर्कता अपनाउने तथा नियन्त्रणका लागि आवश्यक प्रतिकार्यमा सहयोग गर्ने विषयमा जानकारी दिइएको थियो।

कार्यक्रममा अनपेक्षित जनस्वास्थ्य घटना तथा रोगहरूको प्रारम्भिक जानकारी समुदायबाटै उपलब्ध गराउने संयन्त्र प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको स्वास्थ्य शाखाले जनाएको छ।