हेटौँडा, १ चैत्र । कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय वर्कसपले चालु आर्थिक बर्ष २०८२÷८३ को सात महिनाको अबधीमा नौ सय ट्रान्सफर्मर मर्मत गरी बाहिर जिल्ला पठाएको छ । 

सो कार्यालयका प्रमुख ईञ्जिनियर राजकुमार श्रेष्ठका अनुसार चालु आर्थिक बर्ष २०८२÷८३ को साउनदेखि हालसम्म वर्कसपमा बिभिन्न जिल्लाबाट बिग्रिएर आएका नौ सय ट्रान्सफर्मर मर्मत गरी फिर्ता पठाएको छ । 

अघिल्लो आर्थिक बर्ष २०८१÷८२ मा एक हजार नौ सय ५० थान ट्रान्सफर्मर मर्मत गरेको सो वर्कसपले चालु आवमा एक हजार पाँच सयको हाराहारीमा ट्रान्सफर्मर मर्मत गर्ने लक्ष्य लिएको प्रमुख श्रेष्ठले बताउनुभयो । 

‘‘एकातिर हामीसँग चाहिने जति जनशक्ति छैन्, अर्काेतिर बीच केही समय तामा तथा ट्रान्सफर्मरमा हाल्ने तेलको मूल्य बढेर आपूर्तिका लागि टेन्डर हुन नसक्दाँ ट्रान्सफर्मर मर्मतको काम रोकिनु परेको थियो”, प्रमुख श्रेष्ठले भन्नुभयो,‘‘ तर पछिल्लो दुई महिनादेखि ट्रान्सफर्मर मर्मतको काम भईरहेको छ ।”  

सो वर्कसपले मधेश प्रदेश, गण्डकी प्रदेशका सबै जिल्ला तथा बागमती प्रदेशको मकवानपुर, चितवन, सिन्धुली जिल्लामा जडा भएका ट्रान्सफर्मर मर्मत गर्दै आएको छ । कुल ४९ जना जनशक्तिको दरबन्दी रहेको सो वर्कसपमा हाल २९ जना स्थायी, १५ जना ज्यालादारी र आठ जना करारका कर्मचारी कार्यरत छन् । 

प्रमुख श्रेष्ठका अनुसार कार्यालयमा माथिल्लो तहको जनशक्ति भएपनि हेल्पर, जुनियर हेल्परको अभाव छ । ‘‘ट्रान्सफर्मर खोल्न र लगाउन हेल्पर र जुनियर हेल्पर आवश्यक हुन्छ”, प्रमुख श्रेष्ठले भन्नुभयो,‘‘त्यो तहको कर्मचारी हामीसँग तीन जना मात्र छ, त्यसैले काम गर्न समस्या भईरहेको छ ।” 

ट्रान्सफर्मर मर्मतको सङ्ख्या र दायित्व बढ्ेपनि पुरानै दरबन्दी अनुसार जनशक्ति व्यवस्थापन हुँदा कर्मचारी अभाव भएको प्रमुख श्रेष्ठले बताउनुभयो । ‘‘केही बर्ष अघिसम्म यहाँबाट ५÷६ सय ट्रान्सफर्मर मात्र बन्थ्यो, त्यतिबेलाको लागि जनशक्ति ठिकै थियो”, प्रमुख श्रेष्ठले भन्नुभयो,‘‘तर अहिले महिनामा १५० देखि २०० सम्म ट्रान्सफर्मर मर्मत हुन्छ, त्यसैले अहिले जनशक्ति कम भएको छ ।” दरबन्दी थप गरी जनशक्ति व्यवस्थापनका लागि केन्द्रमा पटक पटक पत्रचार गरेपनि अहिलेसम्म खासै उपलब्धी नभएको प्रमुख श्रेष्ठको भनाई छ । 

‘‘मुलुकमा खाना पकाउने ग्यासको अभाव भईरहेको छ, यस्तो अवस्थामा बिद्युतीय चुलोको प्रयोग बढ्न सक्छ र गर्मी समेत बढ्ने भएकाले अत्यधिक सङ्ख्यामा ट्रान्सफर्मर बिग्रिन सक्ने सम्भावना छ”, प्रमुख श्रेष्ठले भन्नुभयो,‘‘ त्यतिबेला सम्म पनि जनशक्ति बढाईएन भने समयमा ट्रान्सफर्मर गर्न कठिनाई हुन सक्छ, अहिले त जेनजेत काम भईरहेको छ, चाप बढ्यो भने धान्न गाह्रो हुन सक्छ ।” त्यही भएर समयमै जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको कथन छ ।