राजविराज, १६ माघ । सप्तरीको खडक नगरपालिका ३ बनरभुल्लास्थित कमलेश्वरी झाेलाई मावि बनरझुल्लाकाे खेलमैदान सञ्चालित खडक नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिताकाे उपाधी कर्मेनेश्वर युवा क्लब खडक ४ ले हात पारेकाे छ । प्रतियोगिता अन्तर्गत आज शुक्रबार सम्पन्न फाइनलमा जनकल्याण युवा क्लब खडक २ लाई शुन्यका बिरुद्ध एक गाेल अन्तरले पराजित गर्दै उपाधी हात पारेकाे हाे । पहिलाे हाफको १८ ओैं मिनेटमा खडक ४ का सुनिलकुमार चाैधरीले गाेल गरी टीमलाई अग्रता दिलाएका थिए । उपाधीसँगै खडक ४ ले नगद रु. ४१ हजार र शिल्ड हात पारेकाे छ भने उपबिजेता खडक २ ले नगद रु. ३१ हजार र कपमा चित बुझाएको आयाेजक समितिका सन्ताेष पासवानले जानकारी दिनुभयाे ।
प्रतियोगिता पश्चात् आयाेजक सताैन स्मृति ट्रष्टका अध्यक्ष सुर्यनारायण चाैधरीकाे अध्यक्षतामा आयाेजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य आनन्द झा, खडक नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष देवनारायण चाैधरी, समाजसेवी विरेन्द्र चाैधरी, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टीम लिडर बिनाेदानन्द चाैधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयाे ।
सताैन स्मृति ट्रष्ट सप्तरीको आयाेजनामा माघ २ गतेदेखि सञ्चालित प्रतियोगितामा खडक नगरपालिकाकाे ११ वटै वडा तथा आयाेजक गरी १२ वटा टीमकाे सहभागिता रहेकाे थियोे ।



















