राजविराज, ३ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित साताै मेयरकप २०८२ फुटबल प्रतियोगितामा प्राेगेसिभ एफसी ओद्राहा सप्तरीले सुरुवात गरेको छ । 

शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा साताै मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत आज शनिवार सम्पन्न खेलमा उद्घाटन खेलमा माेतीराम क्लब माेरङ बिराटनगरलाई ०-३ गाेल अन्तरले पराजित गर्दै ओद्राहा सप्तरीले विजयी सुरुवात गरेको हो । 

प्रतियोगिता अन्तर्गत भोली आइतवार युवा शास्त्री फुटबल क्लब बिरपुर बिहार र शम्भुनाथ नगरपालिका शम्भुनाथ सप्तरीबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो । यसअघि आजै एक कार्यक्रमका बीच शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिताकुमारी चाैधरीले प्रतियाेगिताकाे उद्घाटन गर्नुभयो ।

प्रतियाेगितामा सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर, सिन्धुली, मोरङ्ग र छिमेकी देश भारतका गरि बिभिन्न १२ टिमको सहभागिता रहेको आयाेजकले जनाएको छ । सो प्रतियोगिताका बिजेता टिमले नगद रु.  ५७ हजार  तथा ट्रफि र उपविजेता टिमले नगद रु. ४७ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ । 

सन्यासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।