राजविराज, २ माघ । सप्तरीको खडक नगरपालिका ३ बनरभुल्लास्थित कमलेश्वरी झोलाई माध्यमिक विद्यालयको खेलमैदान आज शुक्रवारदेखि खडक नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
सतौन स्मृति ट्रष्ट सप्तरीद्वारा सञ्चालित वडा स्तरीय फुटबल प्रतियोगिताको शुक्रवार सम्पन्न उद्घाटन खेलमा वडा नम्बर ५ बिजयी भएको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा वडा नम्बर ८ लाई ट्राईब्रेकरमा ६–७ गोल अन्तरले पराजित गर्दै एफसी खडक वडा नम्बर ५ ले प्रतियोगितामा बिजयी सुरुवात गरेको हो । निर्धारित समयसम्म दुबै टीमले एक÷एक गोलको बराबरी खेलपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिएको थियो ।,
प्रतियोगिता अन्तर्गत भोली शनिवारको खेल बजरंगी युवा क्लब खडक वडा नम्बर १ र श्रीराजाजी डिहवार युवा क्लब खडक ११ बीच प्रतिष्पर्धा हुने खेलकुद समितिका संयोजक बिनोदानन्द चौधरीले जानकारी दिनुभयो ।
यसअघि शुक्रवार एक कार्यक्रमका बीच नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष कानन चौधरीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
सतौन स्मृति ट्रष्टका अध्यक्ष सुर्यनारायण चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा खडक नगरपालिका वडा नम्बर ३ का अध्यक्ष देवनारायण चौधरी, वडासदस्य लक्ष्मी चौधरी, आयोजक ट्रष्टका सचिव भगवती चौधरी, समाजसेवी बिरेन्द्र चौधरी लगायत समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।


















