राजविराज, १३ असोज । हरवा चरवा मुक्तिको घोषणा कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
दलित समाज उत्थान समिति नेपाल जनकपुरधामले बिहीवार सप्तरीको शम्भुनाथ नगरपालिका ७ मा आयोजना गरेको दलित श्रम पीडितहरुको लागि वकालत र जिविकोपार्जन कार्यक्रम कार्यान्वयन गर्न सहयोग परियोजना अन्तर्गत अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले घोषणा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय हरवा चरवा मञ्चका अध्यक्ष दशन मण्डलले सरकारले गत २०७९ साउन २ गते मै हरवा चरवा मुक्तिको घोषणा गरेपनि अझै कार्यान्वयन हुन सकेको गुनासो गर्दै मंसिर ४ गतेको निर्वाचन पछि आन्दोलनमा जाने चेतावनी दिनुभयो ।
“घोषणाा मात्रले हुँदैन कार्यान्वयन गर्नुपर्छ ” अध्यक्ष मण्डलले भन्नुभयो,“ त्यसलै हामी दबाब दिन प्रदेशस्तरीय आन्दोलनमा हामी जान्छौ ।” तीनै तहको सरकारले तत्काल हरवा चरवाको तथ्यांक संकलन गरि पुनःस्थापनको कार्य अघि बढाउनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा हरवा चरवा अधिकार मञ्चका लागैन सदाले हरवा चरवाको लागि परिवारका लागि अझै स्थानीय तहहरुले बजेट छुट्याउन नचाहेको गुनासो गर्दै हरवा चरवाहरुलाई आयआर्जनको लागि सिप विकास र स्वास्थ्य, शिक्षाका निम्ति स्थानीय तहहरुले बजेट उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
संविधानले भूमिहिन, सुकुम्बासीहरुको आवासको अधिकार सुनिश्चित गरेपनि त्यो कार्यान्वनय हुनुको साटो उठिबासको समस्या बढ्दै गएको उहाँको गुनासो थियो ।
जिल्ला हरवा चरवा अधिकार मञ्चका अध्यक्ष देवलाल सदाको अध्यक्षतामा आयोजित कार्यक्रममा दलित समाज उत्थान समिति नेपाल जनकपुरधामका कार्यक्रम संयोजक उमेश कुमार साहले जानकारीको उद्देश्य बारे प्रकाश पार्नुभयो ।




















