जनकपुर, १ भदौ । दलित महिलाहरुलाई राज्यको हरेक अङ्गमा सहभागिता सुनिश्चित गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । 

दलित महिला संघ धनुषाले जनकपुरधाममा बिहीवार आयोजना गरेको दलित महिलाको अधिकारको सन्दर्भमा राजनीतिक दलका र भातृसंगठनका पदाधिकारीबीच समन्वयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले दलित महिलाहरु अझै पनि अधिकारबाट बञ्चित रहेकाले हरेक निकायमा उनीहरुको अधिकार सुनिश्चित गराउनुपर्ने बताएका छन् ।

दलित समुदायलाई अधिकार दिन अझै राजनीतिक दलका नेताहरु र राज्य संयन्त्र इमान्दार नरहेको आरोप लगाउँदै बक्ताहरुले दलित समुदायहरु संगठित रुपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

कार्यक्रममा दलित महिला संघ धनुषाका कार्यक्रम संयोजक सिजेन्द्र सदाले दलितहरु अहिले पनि भोट बैंकको रुपमा मात्र प्रयोग भईरहेको भन्दै अब संगठित भएर दलित महलिाहरु अघि बढ्नुपर्ने बताउनुभयो । 

दलितको भोट लिने तर दलितलाई अवसर नदिने प्रबृति अझै कायम रहेकाले दलित समुदायहरु आफ्नो अधिकारको लागि संघर्षको बिकल्प नरहेको उहाँले बताउनुभयो ।  

दलित महिला संघका लक्ष्मी मण्डलले राज्यको बिभेदकारी नीति र पुरातनबादी चिन्तनका कारण दलित महिलाहरु अझै अधिकारबाट बञ्चित रहेको भन्दै  राज्यको हरेक निकायमा अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।