राजविराज, ७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको हरवा चरवा मुक्त घोषणाको स्वागत गर्दै श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले कार्यान्वयन गर्न आग्रह गरेको छ ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष चतुरनारायण चौधरीले प्रेस बिज्ञप्ती जारी गरी प्रधानमन्त्री देउवाले गर्नुभएको ऐतिहासिक हरवा चरवा मुक्त घोषणा कार्यान्वयन गर्नका लागि सरकार, सम्बन्धित निकाय तथा सरोकारबालाहरुसँग आग्रह गर्नुभएको हो ।
गत श्रावण २ गते आयोजित नेपालका मुक्त कमैयाहरुको २२ औं मुक्ति दिवस कार्यक्रममा प्रधानमन्त्री देउवाले विशेष सन्देश मार्फत मधेस प्रदेशका ८ जिल्लामा रहेको हरवा चरवा प्रथा मुक्तको घोषणा गर्नुभएको थियो ।
मुक्त कमैया कम्लहरी, मुक्त हलिया, हरवा चरवा सम्बन्धी वस्तुस्थिति अध्ययन समितिले गत वैशाख ९ गते आफ्नो अध्ययन प्रतिवेदनको सिफारिशलाई समुचित ठह¥याउँदै भूमिब्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रीको सक्रिय पहलमा विद्यमान कमैया श्रम निषेध ऐन २०५८ अनुसार हरवाचरवाको मुक्ति र ऋण र कागजात खारेजी सम्वन्धमा प्रधानमन्त्री देउबाद्वारा भएको सो घोषणा ऐतिहासिक र महत्वपुर्ण घोषणा भएकोे बिज्ञप्तीमा उल्लेख छ ।
पुनस्र्थापनाको एकीकृत प्याकेजसहित हरवा चरवाको मुक्ति र पुनस्र्थापनाको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन सकिएमा एउटा त्यस्तो ऐतिहासिक पाइला हुने र जसले नेपालमा सम्पूर्ण रुपमा सामन्ती भूदास प्रथा बँधुवा श्रमको पुरापुर उन्मुलन सम्भव बनाउने छ बिज्ञप्तीमा भनिएको छ ।




















