शम्भुनाथ (सप्तरी), १ असार । विहान नहुँदै हातमा कुटो कोदालो बोकेर सप्तरीको शम्भुनाथ नगरपालिका ७ भगवतपुर टोलका कलरीदेवी सदा खेतमा पुग्नुहुन्छ । विहानको करिब तीन घण्टा खेतमा काम गरेपछि घरको दैनिक कामकाजमा व्यस्त हुन्छ उहाँ । 

कुनै बेला फुर्सदिला भएर त्यतिकै गाउँका महिलाहरुसँग अनावश्यक गफिएर बस्ने कलरीदेवीलाई अचेल एकछिन बसेर गफिन फुर्सद छैन् । ‘‘के गर्नु बसेर कसैले दुई पैसा दिने होईन्, त्यसैले अहिले खेतीबारीमा व्यस्त हुन्छु”, कलरीदेवी भन्नुहुन्छ‘‘गाउँका साहुसँग लिजमा जग्गा लिएर खेतीपाती गर्न थालेकी छु ।” यसबाट परिवारको गुजारा चलाउन पनि सहज भएको छ र आम्दानी पनि राम्रै भईहाल्छ, उहाँ भन्नुहुन्छ । 

केही बर्षअघिसम्म गाउँको साहुमहजनमा बनिबुतो गरी परिवारको गुजारा गर्दै आउनुभएका सोही ठाउँका सर्मिला सदालाई भने अचेल आफ्नै खेतमा काम गर्न भ्यान नभ्याई भईरहेको छ ।

समान्य लेखपढ गर्न समेत नजानेकी सर्मिलालाई अहिले बिहान हुने बितिकै तरकारीमा कतिबेला पानी हाल्ने र उत्पादन भएको तरकारी टिपेर गाउँ नजिकैको बजारहरुमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ । 

दुईबर्षअघि सम्म पुँजीको आभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी सोनाबतीदेवी सदालाई पनि अहिले तरकारी खेती बरदान जस्तै साबित भएको छ । 

सोनाबतीले पनि गाउँकै साहु बिलेती साहसँग लिजमा दुई कठ्ठा जग्गा लिएर तरकारी खेती गर्दै आएको छ । 

आयआर्जनको ठोस आधार नपाउँदा केही बर्षअघि सम्म गाउँकै साहु महाजन कहाँ हरवा चरवाको रुपमा बहिबुतो गर्दै आएको  बिगतको अतित सम्झिदै सोही टोलका मिनादेवी सदा भन्नुहुन्छ,“ पहिले ज्याला मजदुरीमा सँधै काम गरेर जिविकोपार्जन गरिरहेको थिएँ, बाल बच्चाहरुलाई पालन पोषण गर्न धौ–धौ हुन्थ्यो ।” 

हरवा चरवाको रुपमा काम गर्दा मात्र ३ किलो धान मात्र ज्याला पाउथ्ये, त्यसकारण परिरवार चलाउन समस्या हुन्थ्यो, मिनादेवी भन्नुहुन्छ,“ तर अब मेरो त्यो दुखको दिन कटेको छ ।” अहिले तरकारी खेतीबाट पाँच जना परिवारको गुजारा चलाएर छोराछोरीलाई पढाउँदै आएकी छु, उहाँको भनाई छ । 

यसरी कलरीदेवी, सर्मिला र सोनाबती मात्र होईन्, सो टोलका एक दर्जन हरवा चरवा दलित महिलाहरु सामुहिक तरकारी खेतीतर्फ अग्रसर हुन थालेका छन् । 

बिगतमा स्थानीय साहुमहाजनकोमा बनिबुतो गरेर परिवार चलाउँदै आएकी सो गाउँका दलित महिलाहरु पछिल्लो समय सामुहिक तरकारी खेतीमा जुटेका हुन् । सो गाउँका १३ जना हरवा चरवा दलित महिलाहरु १३ कठ्ठा जग्गा भाडामा लिएर सामुहिक तरकारी खेती सुरु गरेका छन् । 

दिनाराम दिनाभद्री हरवा चरवा बचत तथा ऋण समुह मार्फत बिगत दुई बर्षदेखि सामुहिक तरकारी खेती सुरु गरेका हरवा चरवा दलित महिलाहरुले स्थानीय भिखन बिलेती साहसँग जग्गा भाडाका लिएर मौसमी तरकारी खेती गर्दै आएको समुहका अध्यक्ष अमेरिकादेवी सदाले बताउनुभयो । 

अघिल्लो सिजनमा मकैसँगै घिरौला, भिन्डी लगायत करिब ३ क्विन्टल तरकारी उत्पादन गरी रु. ५० हजार आम्दानी भएको समुहका अध्यक्ष अमेरिकादेवीको भनाई छ । 

साहुँमहाजनकोमा मजदुरीमा मात्र सिमित रहँदै आएका सो गाउँका बिपन्न दलित महिलाहरु जिविकोपार्जन गर्न कठिन भएपछि आफ्नो आयआर्जनको लागि तरकारी खेतीतर्फ अग्रसर भएको स्थानीय श्याम सदाले बताउनुभयो । अहिले भिण्डी, करेला, झिगनी, बोडी, लौका, फर्सी, खुर्सानी लगायतका तरकारी उत्पादन गरिरहेको उहाँको कथन छ । 

द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक केन्द्र सप्तरीले आवश्यक तालिमसँगै आर्थिक, प्राबिधिक लगायतका सहयोग गरेपछि आफुहरु सामुहिक तरकारी खेतीतर्फ अग्रसर भएको समुहका सदस्य सैन्कीदेवी सदाले बताउनुभयो । 

‘‘हामीलाई तरकारी खेती बारे केही थाहा थिएन्”, सैन्कीदेवी भन्नुहुन्छ,‘‘ श्रीपुर्राज सामुदायिक केन्द्रले पहिला हामीलाई समुहमा आबद्ध गराएर तरकारी खेती बारे तालिम दियो ।” तालिम पश्चात सामुहिक तरकारी खेतीका लागि भाडामा जग्गा उपलब्ध गराउनुको साथै तरकारीको बिउबिजन र मलखाद्यको समेत त्यही संस्थाले व्यवस्थापन गरिदिएको छ, उहाँले भन्नुभयो । 

तरकारी खेतीका लागि जग्गासँगै बिउबिजन, मलखाद्य समेत व्यवस्था भएपछि समुहका महिलाहरु सामुहिक रुपमा तरकारी खेतीमा मिहिनेत गरेर आम्दानी गर्दै आएका छन् । तरकारी खेतीको लागि चाहिने सिंचाई गर्न बिद्युतीय मोटर समेत जडान गरिएको छ, जसका कारण तरकारी खेतीमा सहज भएको उहाँहरु बताउँछन् ।

पहिले घरमा फुर्सदमा रहेकाले आफूलाई दिन बिताउनु गाह्रो हुने गर्दथ्यो, व्यवसाय रुपमा तरकारी खेती गर्नुपर्छ भन्ने थाहा भएन उहाँ भन्नुहुन्छ,‘‘ संस्थाबाट तालिम लिएको र घरपरिवारको राम्रो साथ पाएकाले आफूहरुले यो पेशा रोजेका हौँ ।”तरकारी खेतीमा संलग्न भएपछि सानोतिनो समस्या टार्ने खर्च पुग्ने गरेको सैन्कीदेवीको भनाई छ । 

“महिलालाई आफूले कमाउने कुनै उपाय नभएको अवस्थामा अरुको भरमा बाँच्नुपर्दा जीवन अन्धकारजस्तो हँुदोरहेछ”, सैन्कीदेवी भन्नुहुन्छ,‘‘अहिले तरकारी फलेपछि पैसा आईहाल्छ, आफ्नो खर्चलाई अरुको निर्भर रहनु परेन् ।” आफ्नो मिहिनेत र परिश्रमले उत्पादन गरेको वस्तु उपभोक्तामाझ पु¥याउँदा व्यवसायमा उत्साह थपिँदै गएको उहाँले बताउनुभयो । 

पुरुषको तुलनामा महिलाको तरकारी खेतीमा उत्साह राम्रो देखिएको छ । घरव्यवहार चलाउने कार्यमा महिला नै प्रमुख भूमिकामा रहने हाम्रो समाजमा आयआर्जन बढाउने कार्यमा महिलाहरु पुरुषसरह नै व्यवसायमा मिहिनेत र परिश्रम गर्न पछाडि हट्दैनन् । घरधन्दा, छोराछोरीको स्याहारसुसारसँगै यहाँका महिलाले तरकारी व्यवसायलाई साथमै अगाडि बढाएर आत्मनिर्भर बन्दै गएका छन् । 

आर्थिक रुपमा बिपन्न र सामािजक रुपमा बिभेदित हरवा चरवा दलित महिलाहरुलाई लक्षित गरी सशक्तिकरण अभियान सञ्चालन गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता बिजली रामले बताउनुभयो । 

पछिल्लो केही बर्षयता हरवा चरवा दलित महिलाहरुमा आएको परिवर्तन र देखिएको उत्साहजनक सहभागिताले साकारात्म सन्देश दिएको सहजकर्ता रामको भनाई छ । 

‘‘केही बर्षअघि सम्म साहुमहाजनमा मजदुरी गर्दै आएकाका चरवा चरवा परिवारका महिलाहरु सामुहिक तरकारी खेतीमा हौसिदै गएका छन्”, सहजकर्ता राम भन्नुहुन्छ,‘‘ पछिल्लो समय उहाँहरुले देखाएको उत्साहबाट पाठ सिकेर अन्य महिलाहरु अघि बढ्न सके आर्थिकसँगै समाजिक क्षेत्रमा समेत ठुलो परिवर्तन आउन सक्छ ।”

समुहमा आबद्ध भएका हरवा चरवा महिलाहरु तरकारी खेतीबाट भएको आम्दानीबाटै मासिक बचत समेत गर्दै आएका छन् । मासिक रु. एक सयका दरले बचत गर्दै आएका हरवा चरवा महिलाहरु समस्यामा परेका सदस्यहरुलाई न्यून ब्याजमा ऋण सापटी समेत दिदै आएको समुहका अध्यक्ष अमेरिकादेवीको कथन छ ।