सप्तरी, २९ जेठ । कुनै बेला साहुमहाजनको खेतबारीमा मजदुरी गरेर परिवार पाल्दै आएकी सप्तरीको बोदे बसाईन नगरपालिका ७ हैठीका कलमत देवी सदाको पहिचान यतिबेला फेरिएको छ । केही बर्षअघि सम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएकी सदाको अब भन्ने त्यो दुखको दिन गएको छ ।

पुँजीको आभावमा आर्थिक उन्नति गर्न समेत सोच नबनाएकी सदा अहिले किराना व्यापार गरेर राम्रो आम्दानी गर्न थालेपछि उहाँको दुखको दिन गएको हो । 

गाउँको साहुमा हरवा चरवाको काम गरी जिविकोपार्जन गर्दै आउनुभएकी सदाको परिवारमा केही बर्षअघि सम्म दुखको पहाड लागेको थियो । तर ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुख बिस्तारै हराउन थालेको सदा बताउनुहुन्छ ।

“केही नगरी जीवन स्तर उकास्न सकिन् भन्ने बुझेर दुई बर्षअघि न्युन पुँजीमा किराना पसल सञ्चालन गरे अहिले जीवनमा ठुलो परिवर्तन आएको छ”, उहाँ भन्नुहुन्छ,‘‘व्यापार गर्ने इच्छा भएरपनि पुँजी आभावका कारण त्यसले मुर्तता पाउन सकेको थिएन्, तर २०७८ सालमा द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवा चरवा सशक्तिकरण अभियान कार्यक्रम अन्तर्गत गठित दिनाराम दिनाभद्री बचत तथा ऋण समुहबाट ऋण लिएर व्यापार सुरु गरेपछि आफ्नो सपना साकार भएको उहाँको कथन छ ।

कलमतदेवीले पसल चलाउन थालेपछि अहिले उहाँका श्रीमान् विहारी सदाले पनि उहाँलाई सघाई रहनुभएको छ । “म पसल चलाउँछु, श्रीमान्ले नजिकैको बोदे बसाईन बजार र मानराजबाट पसलका लागि चाहिने समानहरु ल्याई दिनुहुन्छ”, कलमतदेवी भन्नुहुन्छ,“ अहिले हामी दुबै जना मिलेर पसल चलाईरहेका छौं ।” पसलबाट दैनिक एक हजार देखि एक हजार ५०० सम्म आम्दानी भईरहेको उहाँको कथन छ । 

“पहिला गाउँको साहुमहाजनमा मजदुरी गर्दै आएको थिए”, कलमतदेवीका श्रीमान् बिहारी सदा भन्नुहुन्छ,“अहिले केही बर्षदेखि मजदुरी छाडेर किराना पसलमा श्रीमतिलाई सघाउँदै आएको छु ।” अरुको मजदुरी गर्नु भन्दा आफ्नै व्यापार गरेर राम्रो आम्दानी गर्न पाएकोमा असाध्यै खुसी लागेको उहाँको अनुभव छ ।   

यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका– १० जमुवाकी लक्ष्मी कुमारी रामले पनि गाउँमा किराना पसल चलाएर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

समान्य लेखपढ गर्न समेत नजानेकी लक्ष्मीलाई बिहान हुने बितिकै कतिबेला पसल खोल्ने, कहाँबाट समान ल्याउन र बिक्री गर्ने भन्नेमा हतारो हुन्छ । 

दुई बर्षअघि सम्म पुँजीको आभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी उहाँ अहिले भन्ने गाउँ नजिकै किराना पसल सञ्चालन गरी राम्रो आम्दानी गर्दै आउनुभएको छ । आयआर्जनको गतिलो आधारसँगै लक्ष्मीको जीवनमा परिवर्तन मात्र होईन्, परिवारको पहिचान समेत फेरिएको छ । 

आयआर्जनको ठोस आधार नपाउँदा केही बर्षअघि सम्म गाउँकै साहु महाजन कहाँ बहिबुतो गर्दै आएको बिगतको अतित सम्झिदै लक्ष्मी भन्नुहुन्छ,“पहिले हरवा चरवाको रुपमा ज्याला मजदुरीमा सँधै काम गरेर जिविकोपार्जन गरिरहेको थिएँ, बाल बच्चाहरुलाई पालन पोषण गर्न धौ–धौ हुन्थ्यो ।” अहिले भन्ने स्वतन्त्र रुपमा सानो व्यापार गरेर राम्रो आम्दानी हुन थालेको छ, जसका कारण सन्तुष्ट छु, उहाँको भनाई छ । 

‘‘दिनभरी ज्याला मजदुरीमा काम गर्दा मात्र थोरै मात्र ज्याला पाउथ्ये, त्यसकारण परिरवार चलाउन समस्या हुन्थ्यो”, लक्ष्मी भन्नुहुन्छ,“ तर अब मेरो त्यो दुखको दिन कटेको छ ।” अहिले तरकारी व्यापार गरेरै ५ जना परिवारको गुजारा चलाउँदै आएको छु, उहाँको भनाई छ । 

आर्थिक बिपन्नता र चेतनाको अभावमा साहु महाजनमा श्रम गर्दै आएकी लक्ष्मी कुमारी, कलमतको जीवनमा आएको यो परिवर्तन कुनै चमात्कारिक शक्तिबाट नभई श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवा सशक्तिकरण कार्यक्रमबाट आएको हो । 

‘‘सुरु स्ुरुमा म धेरै लजाउँथे, के गरौ नगरौ भन्ने थाहै थिएन्, सधै मजदुरी गरेर जेनतेन परिवार मात्रै पालथ्ये” लक्ष्मी भन्नुहुन्छ,“ तर, जब श्रीपुर्राज सामुदायिक विकास केन्द्रले गाउँमै हरवा चरवा परिवारलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरे, तबदेखि हाम्रो जीवनमा परिवर्तन आयो ।” 

द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तिकरण कार्यक्रम अन्तर्गत गाउँकै महिलाहरुको सक्रियामा गठन भएको बचत तथा समुहमा आबद्ध भएकी उहाँहरु त्यही समुहबाट ऋण लिएर व्यापार सुरु गरेको बताउनुहुन्छ । 

कलमतदेवी आबद्ध दिनाराम दिनाभद्री बचत तथा ऋण समुहमा ३० जना सदस्य आबद्ध छन् । हरेक सदस्यहरुले बचत समुहका मासिक रु.१०० का दरले बचत समेत गर्दै आएको समुहका अध्यक्ष अधिकलाल सदाले बताउनुभयो । 

सदस्यहरुले मासिक रुपमा गरेको बचत रकम रु.२४ हजार भन्दा बढी पुगेको छ, समुहका अध्यक्ष सदाले भन्नुभयो,“बचत भएको रकम समुहकै सदस्यहरुमा ऋण लगानी गर्ने गरेका छौ ।” जसले महिलाहरुमा बचतसँगै ऋण प्रवाहको समेत विकास भएको उहाँको बुझाई छ । 

पछिल्लो केही बर्षयता हरवा चरवा दलित महिलाहरुमा आएको परिवर्तन र देखिएको उत्साहजनक सहभागिताले साकारात्म सन्देश दिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता सञ्जीव कुमार यादवको भनाई छ ।