सप्तरी, १० चैत्र (रासस) ः सप्तरीको रुपनी गाउँपालिका– १ रायपुरकी सुनैरदेवी सदालाई अचेल विहान हुने बितिकै पसल खोल्न हतारो हुन्छ ।

गाउँ बस्तीका धेरै जसो मानिसहरु विहान उठ्ने बितिकै घरको काममा व्यस्त हुदाँ सुनरैरदेवीलाई भने कतिबेला पसल खोलेर समान बेच्ने भन्ने हतारोमा हुन्छ ।

बस्ती नजिक रहेको कन्छु नरप्रताप माविको छेउमा खोल्ःनुभएको किराना पसल चलाउने उहाँको दैनिकी नै बनेको बताउनुहुन्छ । न्यून पुँजीमा सुरु गरेको किराना पसल अहिले उहाँको परिवार पाल्ने मुख्य माध्यम समेत बनेको छ ।

केही बर्षअघि सम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएकी सदाको अब भन्ने त्यो दुखको दिन गएको छ ।

पुँजीको आभावमा आर्थिक उन्नति गर्न समेत सोच नबनाएकी सदा अहिले किराना व्यापार गरेर राम्रो आम्दानी गर्न थालेपछि उहाँको दुखको दिन गएको हो । 

गाउँको साहुमा हरवा चरवाको काम गरी जिविकोपार्जन गर्दै आउनुभएकी उहाँको परिवारमा केही बर्षअघि सम्म दुखको पहाड लागेको थियो । तर ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुख बिस्तारै हराउन थालेको सदा बताउनुहुन्छ ।

“केही नगरि जीवन स्तर उकास्न सकिन् भन्ने बुझेर दुई बर्षअघि न्युन पुँजीमा किराना पसल सञ्चालन गरे अहिले जीवनमा ठुलो परिवर्तन आएको छ”, उहाँ भन्नुहुन्छ,‘‘व्यापार गर्ने इच्छा भएरपनि पुँजी आभावका कारण त्यसले मुर्तता पाउन सकेको थिएन्, तर २०७८ सालमा द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवा चरवा सशक्तिकरण अभियान कार्यक्रम अन्तर्गत गठित रुपनी हरवा चरवा बचत तथा ऋण समुहबाट रु. १० हजार ऋण लिएर व्यापार सुरु गरेपछि आफ्नो सपना साकार भएको उहाँको कथन छ ।

यस्तै सोही ठाउँकी पम्पादेवी सदालाई पनि अचेल तरकारी खरिद बिक्री गर्न भ्यान नभ्याई हुन्छ ।

समान्य लेखपढ गर्न समेत नजानेकी पम्पादेवीलाई बिहान हुने बितिकै तरकारी  कहाँबाट खरिद गरेर ल्याउने र नजिकको शहर बजारमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ । 

एकबर्षअघि सम्म पुँजीको आभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी उहाँ अहिले भन्ने गाउँ नजिकैको शहर बजारमा तरकारी खरिद बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । आयआर्जनको गतिलो आधारसँगै पम्पादेवीको जीवनमा परिवर्तन मात्र होईन्, परिवारको पहिचान समेत फेरिएको छ । 

आयआर्जनको ठोस आधार नपाउँदा केही बर्षअघि सम्म गाउँकै साहु महाजन कहाँ बहिबुतो गर्दै आएको बिगतको अतित सम्झिदै पम्पादेवी भन्नुहुन्छ,“पहिले हरवा चरवाको रुपमा ज्याला मजदुरीमा सँधै काम गरेर जिविकोपार्जन गरिरहेको थिएँ, बाल बच्चाहरुलाई पालन पोषण गर्न धौ–धौ हुन्थ्यो ।” अहिले भन्ने स्वतन्त्र रुपमा सानो व्यापार गरेर राम्रो आम्दानी हुन थालेको छ, जसका कारण सन्तुष्ट छु, उहाँको भनाई छ । 

‘‘दिनभरी ज्याला मजदुरीमा काम गर्दा मात्र थोरै मात्र ज्याला पाउथ्ये, त्यसकारण परिवार चलाउन समस्या हुन्थ्यो”, उहाँ भन्नुहुन्छ,“ तर अब मेरो त्यो दुखको दिन कटेको छ ।” अहिले तरकारी व्यापार गरेरै ५ जना परिवारको गुजारा चलाउँदै आएको छु, उहाँको भनाई छ । 

सोही बस्तीकी नैनवती देवी सदा पनि गाउँमै चटपट्टी पसल सञ्चालन गरि राम्रो आम्दानी कमाई रहनु भएको छ । केही महिनाअघि सम्म साहु महाजनमा मजदुरी गर्दै आएकी नैनवतीलाई यतिबेला चटपट्टी बनाएर बिक्री गरि दैनिक रु. ४०० देखि ५०० सम्म कमाई भईरहेको छ । 

आफ्नै घर अगाडी सञ्चालन गरेको चटपट्टी व्यापारले नैनवतीको मात्रै होईन् , उहाँको सिंङ्गो परिवार नै सुखी र खुसी बनेका छन् । 

‘‘परिवारका सदस्यहरुको समेत राम्रै साथ पाएकी छु”, नैनवती भन्नुहुन्छ,‘‘चटपट्टी व्यापार गरेर परिवारको गुजारा चलाउनुको साथै छोरा छोरीको पढाई खर्चसँगै परिवारमा आईपर्ने आर्थिक समस्या पनि समाधान गर्दै आएकी छु ।” 

आर्थिक बिपन्नता र चेतनाको अभावमा साहु महाजनमा श्रम गर्दै आएकी सुनैरदेवी, पम्पा र नैनवतीको जीवनमा आएको यो परिवर्तन कुनै चमात्कारिक शक्तिबाट नभई श्रीपुर्राज सामुदायिक विकास केन्द्रले द फ्रिडम फण्डको सहयोगमा सञ्चालन गरेको हरवा सशक्तिकरण कार्यक्रमबाट आएको हो । 

‘‘सुरु स्ुरुमा म धेरै लजाउँथे, के गरौ नगरौ भन्ने थाहै थिएन्, सधै मजदुरी गरेर जेनतेन परिवार मात्रै पालथ्ये” नैनवती भन्नुहुन्छ,“ तर, जब श्रीपुर्राज सामुदायिक विकास केन्द्रले गाउँमै हरवा चरवा परिवारलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरे, तबदेखि हाम्रो जीवनमा परिवर्तन आयो ।” 

द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तिकरण कार्यक्रम अन्तर्गत गाउँकै महिलाहरुको सक्रियामा गठन भएको बचत तथा समुहमा आबद्ध भएकी उहाँहरु त्यही समुहबाट ऋण लिएर व्यापार सुरु गरेको बताउनुहुन्छ । 

सिरहाको लहान, गोलबजार, धनगढीमाई तथा सप्तरीको बिरेन्द्र बजार, राजविराजबाट तरकारी खरिद गरि गाउँसँगै नजिकैको कठौना, ट्राफिक बजार लगायतको बजारहरुमा तरकारी व्यापार गर्दै आएकी पम्पादेवी भन्नुहुन्छ,“ अहिले त्यहि तरकारी व्यापारबाट दैनिक रु. ५०० देखि रु. ७००  सम्म कमाई भईरहेको छ ।”

आफु आबद्ध भएको रुपनी हरवा चरवा बचत तथा ऋण समुहबाट रु.पाँच हजार ऋण लिएर सुरु गरेको तरकारी व्यापार फस्टाउँदै गएपछि ऋण चुक्ता गएर समुहमै बचत गर्दै आएको उहाँ बताउनुहुन्छ । 

साधारण लेखपढ गर्न मात्र जानेकी सुनैरदेवी समुहमा लागेपछि निधक्कर्ता पुर्व बोल्न सक्ने मात्र होईन् आम्दानी गर्ने र बचत गर्ने बानीको समेत आफुमा बिकास भएको बताउनुहुन्छ ।

सो समुहमा १८ महिला र २९ पुरुष गरी  ४७ जना हरवा चरवा परिवारका सदस्यहरु आवद्ध छन् । आबद्ध भएका हरेक सदस्यहरुले बचत समुहका मासिक रु.१०० का दरले बचत समेत गर्दै आएका छन् । 

सदस्यहरुले मासिक रुपमा गरेको बचत रकम रु.१८ हजार भन्दा बढी पुगेको छ, समुहका अध्यक्ष सदाले भन्नुभयो,“बचत भएको रकम समुहकै सदस्यहरुमा ऋण लगानी गर्ने गरेका छौ ।” जसले महिलाहरुमा बचतसँगै ऋण प्रवाहको समेत विकास भएको उहाँको बुझाई छ । 

पछिल्लो केही बर्षयता हरवा चरवा दलित महिलाहरुमा आएको परिवर्तन र देखिएको उत्साहजनक सहभागिताले साकारात्म सन्देश दिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता पुनम चौधरीको भनाई छ । 

‘‘केही बर्षअघि सम्म साहुमहाजनमा मजदुरी गर्दै आएकाका चरवा चरवा परिवारका महिलाहरु बिस्तारै साना व्यवसायमा हौसिदै गएका छन्”, सहजकर्ता चौधरी भन्नुहुन्छ,‘‘ पछिल्लो समय उहाँहरुले देखाएको उत्साहबाट पाठ सिकेर अन्य महिलाहरु अघि बढ्न सके आर्थिकसँगै समाजिक क्षेत्रमा समेत ठुलो परिवर्तन आउन सक्छ ।”