लहान, १९ साउन । बैंक तथा बित्तिय संस्थाहरुले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दत्र्ता गराउने क्रम ह्वातै बढेको छ । 

बैंक तथा बित्तिय संस्थाहरुले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको र बढ्दो लोडसेडिङ्गले समेत खासै असर नपर्ने भएपछि सिरहामा कृषिजन्य उद्योग दत्र्ता गराउने क्रम बढेको हो ।

आर्थिक बर्ष २०७८÷०७९ मा एक हजार ८६५ वटा नयाँ उद्योग दत्र्ता हुदाँ त्यसमा एक हजार २४३ वटा कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ । 

दत्र्ता भएको नयाँ कृषिजन्य उद्योगमा कृषि, पशुपंक्षी र माछापालन सम्बन्धि एक हजार १२० वटा, पशुपालन सम्बन्धि ७१ वटा, माछापालन सम्बन्धि १२ वटा, दूधजन्य उद्योग १४ वटा दत्र्ता भएको कार्यालय प्रमुख दिपेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

यस्तै आर्थिक बर्ष २०७८÷०७९ मा सेवामूलक उद्योग ४७७ वटा, उत्पादनमूलक उद्योग १४५ वटा दत्र्ता भएको प्रमुख यादवले बताउनुभयो । 

यो सँगै सिरहामा कृषि तथा वनजन्य उद्योग चार हजार १३, उत्पादन उद्योग एक हजार ७५७ वटा र सेवा उद्योग चार हजार ७१५ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या १० हजार ३१५ पुगेको प्रमुख यादवले जानकारी दिनुभयो ।

यस्तै आर्थिक बर्ष २०७८÷०७९ मा नयाँ उद्योग र बाणिज्य तर्फ दत्र्ताबाट रु. १ करोड ८१ लाख ३३ हजार २९८ राजस्व सङ्कलन भएको जनाएको छ । गत आर्थिक बर्ष २०७७÷०७८ मा एक हजार ९१३ नयाँ उद्योग दत्र्ता भएको थियो । अघिल्लो आर्थिक बर्ष २०७७÷०७८ मा पनि सबै भन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार १२२ वटा, सेवा उद्योगतर्फ ६०५ र उत्पादन उद्योग तर्फ १८६ वटा उद्योग दत्र्ता भएको थियो । 

अघिल्लो आर्थिक बर्ष २०७७÷०७८ मा कृषि तथा वन जन्यतर्फ पशु, माछा तथा कृषि उद्योग एक हजार १८ वटा, पशुपालनका ५४ तथा कुखुरा पालनका १७ वटा नयाँ उद्योग दत्र्ता भएको सो कार्यालयले जनाएको छ ।

जिल्लास्थित बैंक तथा बित्तिय संस्थाहरुबाट कृषिजन्य उद्योगमा ऋण लगानी हुन थालेको र अन्य उद्योगभन्दा कृषिजन्य उद्योगलाई बढ्दो लोडसेडिङ्गले खासै असर नपार्ने भएकाले कृषिजन्य उद्योगतर्फ स्थानीयहरु आकर्षित भएको प्रमुख यादवको भनाई छ ।