सिरहा,असोज २१ गते ।  सिरहाको सुखिपुर नगरपालिकामा संघीय सरकारको १९ करोड १५ लाखको लागतमा निर्मित आधारभूत नगर अस्पताल आजदेखि संचालनमा आएको छ । अस्पतालको उद्घाटन मधेश प्रदेश सभा सदस्य शत्रुधन प्रसाद सिंहले गर्नुभएको हो । 

१५ शैय्याको आधारभूत नगर अस्पताल संचालनसँगै यस भेगका करिव आधा दर्जन पालिकाका सयौं स्थानीयले स्वास्थ्य सेवा पाउने भएका छन् । यसअघि स्वास्थ्य सेवा लिन यस भेगका स्थानीयलाई स्वास्थ्य सेवा लिन दुर दराजको ठाउँमा जानुपर्ने वाध्यता रहँदै आएको थियो । अस्पताल संचालनको लागि गैर सरकारी संस्था निक साईमनले केही सहयोग गरिरहेको छ । 

अस्पताल उद्घाटनको क्रममा सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवले भवन बनेपनि दक्ष जनशक्ति एवम् उपकरण औजार तथा औषधिको अपर्याप्तका कारण सोचेजस्तो सेवा दिन समस्या हुने भएकाले यसतर्फ ध्यान दिन संघीय सरकारलाई आग्रह गर्नुभयो । यद्यपि आफूले नगरपालिकाको श्रोत साधनको सीमितताको वावजुद अस्पताल संचालनमा कमी ल्याउन नदिने मेयर यादवले उल्लेख गर्नुभयो ।

WhatsApp Image 2026-10-07 at 6.20.43 PM 

अस्पतालका लागि स्थानीय रामअशिष चौधरी, केशव प्रसाद चौधरी तथा लक्ष्मण चौधरीको परिवारले एक विघा एक कठ्ठा एक धुर जग्गा प्रदान गर्नुभएको थियो । त्यस वेला जग्गादाता परिवारहरुले नगरपालिकाले सम्मान समेत गर्नुभएको छ ।