लहान, असोज २० गते। थारु समुदायको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सिरहाको लहानमा “थारु सांस्कृतिक दशैँ–तिहार उत्सव मेला” आयोजना हुने भएको छ।
थारु कल्याणकारी सभा, जिल्ला कार्यसमिति सिरहा–लहानको आयोजनामा असोज २५ गते लहान स्थित श्री पशुपति माध्यमिक विद्यालयको खेलमैदानमा उत्सव आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुनेछ।
उत्सवमा थारु समुदायका लोपोन्मुख तथा परम्परागत लोकनृत्य धुमरा, सामा–चकेवा, सखिया लगायतका नृत्य तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। यससँगै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ।
मेलामा थारु समुदायका मौलिक खानाका परिकारहरूलाई विशेष प्राथमिकता दिइनेछ। बगिया, घोंघी, सितुवा, कोकरा, तेलपुरी, भका, पेरवा, सिध्रा लगायतका परम्परागत परिकारहरूको प्रदर्शनी तथा बिक्रीका लागि खाद्य स्टल राखिनेछ।
त्यस्तै, थारु समुदायका परम्परागत भेषभूषा, गहना, कपडा तथा हस्तकलाका सामग्रीको प्रदर्शनीसमेत गरिने आयोजकले जनाएको छ।
उत्सवमा सांस्कृतिक कार्यक्रमसँगै कुस्ती, जलपरी, झुला, बाल उद्यान तथा विभिन्न मनोरञ्जनात्मक खेलहरू समेत सञ्चालन हुनेछन्। यसले बालबालिका, युवा तथा सर्वसाधारणका लागि मनोरञ्जनको अवसरसमेत प्रदान गर्ने आयोजकको भनाइ छ।
नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्य
थारु कल्याणकारी सभाका अनुसार उत्सवको प्रमुख उद्देश्य थारु समुदायका लोपोन्मुख कला तथा संस्कृतिको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक भाषा, भेषभूषा, खानपान र परम्परासँग जोड्नु हो।
त्यसैगरी, दशैँ तथा तिहारको अवसरमा विभिन्न जातजातिका कला र संस्कृतिबीच सांस्कृतिक आदानप्रदान गराउँदै आपसी भाइचारा, सद्भाव र सामाजिक एकता सुदृढ गर्ने लक्ष्यसमेत राखिएको छ।
आयोजकले थारु समुदायको मौलिक संस्कृति र पहिचान संरक्षण गर्ने अभियानलाई आम जनसमुदायसम्म पुर्याउन सञ्चारमाध्यम तथा पत्रकारहरूलाई समाचार प्रकाशन तथा कार्यक्रमको कभरेजमार्फत सहयोग गरिदिन आग्रह गरेको छ।
थारु कल्याणकारी सभा, जिल्ला कार्यसमिति सिरहा–लहानले उत्सवलाई भव्य र प्रभावकारी बनाउन स्थानीय समुदाय, सञ्चारकर्मी, कलाकार तथा सर्वसाधारणको सहयोग र सहभागिताको अपेक्षा गरेको छ।












