लहान,भदौ २१ गते । भदौ १० गते भोटेकोसीमा आएको बाढीले सम्पर्कविहीन भएका लहान नगरपालिका –११ का नेपाली सेनाका पियुठ विवेकनारायण चौधरी सम्पर्कविहीन भएको बाह्र दिन पुग्दासम्म सम्पर्कमा आउनुभएको छैन । परिवारजनले उहाँको पर्खाइमा बाटो कुरेर बस्नुभएको छ । 

निम्न वर्गीय किसान परिवारमा जन्मेका चौधरी उमेरले २८ वर्ष लाग्नुभएको छ । नेपाली सेनाको सिपाहीको रुपमा भर्ना भएको दश वर्ष पुगेका चौधरी सेनामा फुटबल क्लबमा एक उर्जावान खेलाडी हुनुहुन्छ । 

खेलकुदमा निकै रुचि राख्ने चौधरी माध्यमिक विद्यालयमा पढ्दैगर्दा एक प्रतिभावान खेलाडिको रुपमा चिनिएको लहान –११ को वडाध्यक्ष सूर्यनारायण चौधरीले बताउनुभयो ।  

भदौ ९ गते राति छोरा विवेकसँग मोबाइलमा कुरा भएको आमा फुलोदेवी चौधरीले सुनाउनुभयो । छोराले मोबाइलमा त्यो राति गरेको कुराले मुटु पोलिरहेको उहाँले बताउनुभयो । छोरा विवेकलाई खोजी दिन सबैसँग उहाँले आग्रह गर्नुभयो । 

नुवाकोटमा कार्यरत भाइ विवेकनारायण रसुवा मैलुङग चेकपोष्टमा गएको चार दिन मात्र भएको थियो । २२ जना नेपाली सेना रहेको सो चेकपोष्टमा १८ जनासँग सम्पर्क हुन नसकिरहेको चौधरीको दिदी हेमलता चौधरीले सुनाउनुभयो । 

लहान नगरपालिका वडा नम्वर १५ का बिजय चौधरी गतवर्ष जेनजी आन्दोलनमा सहादत भएको एक वर्ष नपुग्दै यस वर्ष लहान नगरपालिका वडा नम्वर १५ वीरनगरका इन्जिनियर मुकेश चौधरी र वडा नम्वर ११ का विवेक नारायण चौधरी रसुवाबाट  सम्पर्कविहीन भएको खबरले लहानका उर्जावान युवा गुमाएको समाजसेवी अच्चमितलाल चौधरीले बताउनुभयो। 

उहाँहरुको सम्पर्कका लागि स्थानीय राजदेवी मन्दिरमा दिनहुँ विशेष पूजापाठ भइरहेको लहान –१५ का वडाध्यक्ष तेजनारायण चौधरीले बताउनुभयो। परिवारका सदस्यहरु अझै आश नमारेको बताउँदै उहाँले उद्धार कार्यमा सबैको सहयोगको खाँचो औल्याउनुभयो ।  गोरखापत्रबाट