रामनारायण ठाकुर
मिर्चैया,भदाै २ गते ।पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–६ स्थित मटियर्वा चोकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ८ ख ४१२४ नम्बरको ट्रकले ज. ७ प ५२५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा नरहा गाउँपालिका–३ खोरियाका मोहम्मद सरिफ राईनका २० वर्षीय छोरा अर्वाज राईन घाइते भएका छन्। उनी घुर्मी बजारस्थित एक मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका छन्।
घाइते राईनको टाउको, मुख तथा हातखुट्टामा चोट लागेको बताइएको छ। उनको मिर्चैयास्थित मंगलम हेल्थ केयर सेन्टर प्रा.लि. मा उपचार भइरहेको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



















