सिरहा, बैशाख १ गते । सिरहाको लहान नगरपालिका वडा नं. १२ र २२ मा अवस्थित सलहेश फुलबारीमा आज वैशाख १ गते अर्थात् नेपाली नयाँ वर्षको अवसरमा हजारौं श्रद्धालु तथा आगन्तुकहरूको घुइँचो लागेको छ।

लहान बजारबाट करिब चार किलोमिटर दक्षिण–पश्चिममा रहेको यस धार्मिक, ऐतिहासिक तथा पौराणिक स्थलमा प्रत्येक वर्ष नयाँ वर्षकै दिन मात्र हारमको बोटमा फूल फुल्ने र सोही दिन ओइलाउने अनौठो घटना देख्न पाइन्छ। यस अद्भुत दृश्यलाई प्रत्यक्ष अवलोकन गर्न देश–विदेशबाट समेत ठूलो संख्यामा मानिसहरू यहाँ पुग्ने गरेका छन्।

१४औँ शताब्दीका लोकनायक राजा सलहेशको गाथासँग जोडिएको यस स्थलमा फुलेको फूललाई प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ। उक्त फूलको दर्शन गरे धनधान्य, सुख–शान्ति, सन्तान प्राप्ति तथा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ। यही आस्थाका कारण हरेक वर्ष यहाँ मेला भर्न आउने श्रद्धालुहरूको संख्या बढ्दै गएको छ।

करिब ९ विगाहा क्षेत्रफलमा फैलिएको यो ऐतिहासिक स्थल राजा सलहेशको शौर्य र वीरतासँग पनि जोडिएको मानिन्छ। देश–विदेशमा परिचित भए तापनि उचित व्यवस्थापन र संरक्षणको अभावका कारण यस महत्वपूर्ण पर्यटकीय तथा धार्मिक स्थल ओझेलमा पर्ने जोखिम बढ्दै गएको स्थानीयवासीहरूले बताएका छन्।