सिरहा चैत्र २९ गते । नयाँ वर्षको अवसरमा लाग्ने ऐतिहासिक तथा पौराणिक महत्त्व बोकेको प्रसिद्ध मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। लहान नगरपालिका वडा नं. १२ र २२ मा अवस्थित यस धार्मिक स्थललाई यतिबेला दुलहीझैँ सिँगारिएको छ।
हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने अलौकिक फूल अवलोकन गर्न तथा राजा सलहेशको पूजा–अर्चना गर्न देश तथा विदेशबाट श्रद्धालुहरू यहाँ आउने गर्दछन्। विशेष गरी नेपालका विभिन्न जिल्लासँगै भारतका सीमावर्ती सहरहरूबाट लाखौँ भक्तजन आउने गर्दछन् ।
भीड व्यवस्थापनलाई ध्यानमा राख्दै मेला व्यवस्थापन समितिले व्यापक रूपमा स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरेको छ। साथै गर्मी मौसमलाई मध्यनजर गर्दै ठाउँ–ठाउँमा खानेपानी, विश्राम स्थल तथा प्राथमिक उपचार केन्द्रको व्यवस्था गरिएको छ। मेलालाई सुरक्षित, व्यवस्थित र सहज बनाउन विशेष पहल गरिएको जयकान्त चौधरी ले जानकारी दिनुभयो।
राजा सलहेश र उनकी प्रेयसी मालिनीबीचको प्रेमको प्रतीक मानिने यो फूलप्रति श्रद्धालुहरूको गहिरो आस्था रहेको छ। मनोकामना पूरा हुने विश्वासका साथ भक्तजनहरू यहाँ पुग्ने गर्दछन्।
छैठौँ शताब्दीका लोकनायक राजा सलहेशको वीरता र शौर्यसँग जोडिएको यो फूलवारी करिब ९ विगाहा क्षेत्रफलमा फैलिएको छ, जसले यसको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई अझै उजागर गरेको छ।




















