सिरहा,चैत्र ८ गते ।  सिरहाको लहान नगरपालिका वडा नं. १६ स्थित तरेगनाका बासिन्दाको वर्षौदेखिको शुद्ध खानेपानीको सपना बल्ल पूरा भएको छ । विगत २६ वर्षदेखि अलपत्र अवस्थामा रहेको तरेगना खानेपानी आयोजना ३४ औँ विश्व खानेपानी दिवसको अवसर पारेर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि नै आयोजनाको काम सुरु गरेको थियो । २ लाख २५ हजार लिटर क्षमताको ’ओभरहेड ट्याङ्की’ निर्माण भए तापनि विभिन्न प्राविधिक कारणले यो आयोजना दशकौँदेखि थन्किएको थियो ।

लामो समयदेखि जीर्ण बनेको संरचनालाई विकन परियोजनाले मर्मत–सम्भार गर्नुका साथै नयाँ बोरिङ जडान कार्यमा समन्वयकारी भूमिका निर्वाह गरेपछि आयोजना सञ्चालन सम्भव भएको हो ।

आयोजना सञ्चालनमा आएसँगै त्यस क्षेत्रका करिब ३५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । यसअघि स्थानीय बासिन्दाहरू असुरक्षित र अशुद्ध पानी पिउन बाध्य थिए ।

खानेपानीको पहुँच पुगेसँगै यस क्षेत्रको सरसफाइ र स्वास्थ्य अवस्थामा समेत उल्लेख्य सुधार आउने विश्वास लिएका छौँ,“ दलित जनकल्याण युवा क्लबका विकन परियोजना प्रबन्धक राजेशकुमार लोहनीले बताउनुभयो ।

चुरे फेदीमा रहेको यस भेगमा पछिल्लो समय भूमिगत पानीको स्रोत सुक्दै गएकाले खानेपानीको ठूलो समस्या थियो । यो आयोजना सञ्चालनमा आउनु स्थानीयका लागि दिगो समाधान भएको बौद्धिक वर्गको ठहर छ । 

आयोजना सुचारु भएपछि स्थानीयले खुसी व्यक्त गर्दै अब खानेपानीका लागि भौँतारिनुपर्ने अवस्था अन्त्य भएको बताएका छन् ।