सिरहा,चैत्र ५ गते । सिरहा सिरहाको लहान नगरपालिका–१५ स्थित श्री कोइराले नमुना सामुदायिक वन तथा हात्ती दह सिमसार क्षेत्रमा ’वनस्टे’ (पाहुना घर) सञ्चालनमा आएको छ । सामुदायिक वन र सिमसारको सौन्दर्यमा रमाउन आउने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त वनस्टेको लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नुभएको हो ।

उद्घाटनका क्रममा नगरप्रमुख चौधरीले भन्नुभयो लहानलाई पर्यटकीय गन्तव्य बनाउने हाम्रो अभियानमा यो वनस्टे एउटा कोशेढुंगा हो । यहाँ आउने पर्यटकले अब सुलभ दरमा घरजस्तै वातावरण पाउनेछन् । यसले एकातिर वनको संरक्षणमा टेवा पुग्नेछ भने अर्कोतिर स्थानीय समुदायको आर्थिक स्तर उकास्न मद्दत गर्नेछ ।

पर्यटकको सुविधाका लागि वनस्टेमा दुईवटा सुविधायुक्त कोठाहरू निर्माण गरिएका छन्, जहाँ चारवटा बेड र अट्याच बाथरुमको व्यवस्था छ । बजारका होटल र लजको तुलनामा निकै सस्तो दरमा सेवा दिने श्री कोईराले नमुना सामुदायिक वन उपभोक्त समूह तथा हाती दह सिमसार क्षेत्रका अध्यक्ष रुद्रनारायाण चौधरीले जनाउनु भयो । 

यो परियोजना जर्सी ओभरसिज एडको आर्थिक सहयोग, केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र राष्ट्रिय कृषक समूह महासंघको साझेदारीमा निर्माण गरिएको हो । यसको सफल कार्यान्वयनका लागि लहान नगरपालिकाले विशेष समन्वय गरेको छ ।

बास बस्न आउने पर्यटकलाई स्थानीय कला र संस्कृतिसँग जोड्न रातीको समयमा सांस्कृतिक नृत्य समेत प्रदर्शन गरिनेछ । यसले स्थानीय मौलिकताको जगेर्ना गर्नुका साथै पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्नेछ ।

प्राकृतिक वातावरणमा बस्न चाहनेहरूका लागि यो एक उत्तम विकल्प हुने विश्वास गरिएको छ ।