सिरहा, चैत्र १ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिरहा क्षेत्र नं. १ का नेपाली कांग्रेस उम्मेदवार राम शंकर चौधरीलाई असहयोग गरेको भन्दै पार्टीका नेता–कार्यकर्तामाथि गरिएको कारबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । 

नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवं लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले गरेको कारबाहीको कदमप्रति क्षेत्रीय सभापति पदका प्रत्यासी उम्मेदवार कन्हैया प्रसाद गुप्ताले पत्रकार सम्मेलन गरी कडा आपत्ति जनाउनुभएको हो ।

आज लहानमा आयोजित पत्रकार पत्रकार सम्मेलनमा बोल्दै नेता गुप्ताले पार्टीका पूर्व मन्त्री, केन्द्रीय सदस्य, महासमिति सदस्य र जनप्रतिनिधि जस्ता संगठनका खम्बा मानिने निष्ठावान कार्यकर्ताहरूमाथि लगाइएको ‘असहयोग’ को आरोप पूर्णतः झुठा, भ्रामक र कपोकल्पित रहेको बताउनुभयो । 

संगठन निर्माणमा अहोरात्र खटिएका कार्यकर्ताहरूलाई ५ वर्षका लागि निष्कासन गर्ने सिफारिस राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित रहेको उहाँको दाबी छ ।

निर्वाचनको समीक्षा र एकता हुनुपर्ने समयमा इमानदार कार्यकर्तालाई निसाना बनाइँदा पार्टीको आन्तरिक संगठनमा गम्भीर क्षति पुग्ने भन्दै नेताहरूले यस निर्णयको विरोध गरेका छन् । यस घटनाले सिरहा कांग्रेसभित्रको आन्तरिक कलहलाई थप सतहमा ल्याइदिएको छ ।