सिरहा, फागुन २१ — प्रतिनिधि सभा सदस्यका लागि सिरहामा सम्पन्न निर्वाचनपछि मतपेटिका मतगणना स्थलमा ल्याउने कार्य जारी रहेको छ।

चारवटै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरी मतगणना स्थलतर्फ ल्याइँदैछ। दूरी टाढा भएकाले मतगणना आजै वा भोलि बिहानबाट सुरु हुन सक्ने निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा रहेका ५३१ मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी रहेको छ। मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताइएको छ।

सिरहामा कुल ४ लाख ५३ हजार ६ सय ५४ मतदाता रहेको र दल तथा स्वतन्त्र गरी १३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।