सिरहा, फाल्गुन २१ गते । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सिरहा जिल्लामा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।
विहानैदेखि उत्साहपूर्ण तथा शान्त वातावरणमा मतदाताहरू मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ।
त्यसैगरी वृद्धवृद्धा, अशक्त तथा अपांगता भएका मतदाताका लागि विशेष व्यवस्था मिलाइएको छ, जसका कारण उनीहरूलाई मतदान गर्न सहज भएको देखिन्छ।
सिरहाको चार वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि ५ सय ३१ मतदान स्थलबाट मतदान भइरहेको छ। जिल्लामा कुल ४ लाख ५३ हजार ६ सय ५४ मतदाता रहेका छन्।
यस निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी कुल १ सय ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन करिब ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। साथै सोही अनुपातमा मतदान स्थलहरूमा प्रहरी पनि खटाइएको जानकारी दिइएको छ।




















