सिरहा माघ १६ गते । सिरहामा गोली प्रहारबाट एक जनाको हत्या भएको छ। सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् ।
स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार छेउको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेका बेला अज्ञात व्यक्तिले अचानक गोली प्रहार गरेका थिए। गोली लागेपछि यादवको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डीएसपी रमेशबहादुर पालले प्रारम्भिक रूपमा घटनास्थलको अवस्था हेर्दा गोली हानी हत्या गरिएको देखिएको जनाउनु भयो ।
उनका अनुसार कसले र किन गोली हानेको हो भन्ने विषयमा हालसम्म केही खुल्न सकेको छैन । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।



















