सिरहा,कार्तिक १७ गते । दिदीवहिनी र दाजुभाई बीचको प्रेमको प्रतीकका रूपमा मनाईने सामा चकेवा पर्व सिरहा लगायत तराई मधेशका गाउँ गाउँमा मनाउदै छन् ।
यस पर्वमा कलात्मक मूर्ति समा, चकेवा, सत भैयाँ, चुगला (चापलुसी गर्ने व्यक्ति) चरा लगायतका माटोको प्रतिमा बनाई दियो बालेर आंगन तथा चौक वा टोल गल्ली सडकमा गएर प्रत्येक साँझ देखि मध्यरात सम्म खेल्ने गरेको छ ।

सामा चकेवा पर्व सामा र चकेवा लगायत माटोले बनाएका प्रतिमालाई मण्डपमा राखि थारु समुदायका महिला दिदीबहिनीहरुले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसा संगै आशिष दिँदै सामा गीत गाउँदै पर्व मनाई रहेका छन् ।
काँचो माटोले बनाएको मुर्तीहरुलाई दुलही झै सजाएर औपचारिक रुपमा भाइटीकाको दिनदेखि प्रारम्भ गरी पूर्णिमाको भोलि पल्ट बाजा सहित नाच गान गर्दै छोरीलाई विदाई गरेझै विशेष पूजापाठ गरी पाल्कीमा राखी पोखरी, तलाउ र नदीमा सेलाउने गरिन्छ ।
भगवान कृष्णकी छोरी सामलाई वृन्दबनको जङ्गलमा एक ऋषिसँग रोमान्स गरेको झूटो आरोप लगाइयो र कृष्णले उनलाई र वनका सबै ऋषिहरूलाई पंक्षी बनाएर दण्ड दिईएका थिए भने भाइ साम्बको धेरै माया र बलिदानले अन्ततः उनलाई र ऋषिहरूलाई मानव रूपमा ल्याउन सफल भएको किम्वदन्ति रहेको छ ।



















