सिरहा,असोज १२ गते । भदौ २४ गते जेनजीको प्रदर्शन, आगजनी तथा तोडफोडको क्रममा सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा करिव दुई करोड बढीको क्षति भएको छ । 

यातायात व्यवस्था कार्यालय लहानका सूचना अधिकारी विनित झाका अनुसार भवन, सवारीका साधन, कम्प्युटर, कार्यालयमा प्रयोग हुने इक्वीमेन्ट, फर्निचर गरी करिव दुई करोड बढीको क्षति भएको उल्लेख गर्नुभयो । 

भवन बस्नै नसकिने गरि आगजनी भएका कारण सवारी चालक सम्बन्धी कामकाज अनिश्चितकालका लागि बन्द गरिएको । भवन अभावमा कार्यालयका कर्मचारीहरु कार्यालय हाताभित्र टेबुल कुर्सीको सहायताले पटके, जाँचपास, रुट परमिट, सवारी कर र नवीकरणका काम मात्र गरिरहेको छ ।  

यातायात व्यवस्था कार्यालय लहानमा मोटरसाइकल एक लाख साठी हजार, चार पांग्रे सवारीका साधन पनि पचास हजारको रेकर्ड रहेको थियो ।