सिरहा, असोज ७ गते । सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहाका दुई दिनदेखि अपहरणमा परेका १५ वर्षिय किशोर अभिषेक सिंहको आज बिहान ६ बजे शव फेला परेको छ । 

असोज ५ गते साँझबाट हराइरहेका बालक सिंहको शव उनकै घर देखि १ सय मिटर पूर्व जनता आधारभूत विद्यालयको छेउमा आँपको रुख मुनि फेला परेको हो । बालक अभिषेकको हत्याले डंग्राहा र वरपरका बासिन्दा शोकमग्न भएका छन् । सिङ्गो गाउँमा रुवाबासी र डर ज्ञास फैलिएको छ ।

मृतकका  बाजे लक्ष्मण सिंहका अनुसार सोमबार विहान अभिेषेकको मोवाइलबाट आमाको मोवाइलमा बालक अपहरण भएको र पाँच करोड फिरौती मागिएको म्यासेज आएको थियो । 

शवको प्रकृति हेर्दा हत्या पछि लासमा आगो लगाइएको वा एसिड खन्याइएको हुन सक्ने प्रहरीले प्राराम्भिक अनुमान गरेको छ । बालक अभिषेकको शवमा जीवैभरी नीलडाम छ ।   

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक अनन्त कुमार शर्माका अनुसार बालक सिंहको अपहरण पछि हत्या भएको हुनसक्ने वताउँदै घटना बारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।