सिरहा,असोज ६ गते । भदौ २४ गते जेनजी पुस्ता प्रदर्शन, आगजनी तथा तोडफोडको क्रममा लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको खाद्यान्नमध्ये आजसम्म ३.५२ प्रतिशत मात्र खाद्यान्न फिर्ता भएको छ ।
गोदाममा मौज्दात विभिन्न भेराइटीका आठ हजार पाँच सय बोरा चामल र तीन हजार दुई सय बोरा मध्ये हालसम्म २९३ क्वीन्टल ४३ किलो चामल र ७ क्वीन्टल ८४ किलो चिनी मात्र फिर्ता भएको कम्पनीका सूचना अधिकारी अनिल कुमार सिंहले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार उक्त कम्पनीका प्रमुख दिपक सुनारले लुटिएका चामल र चिनी फिर्ता गर्न तदारुकता नदेखाएको कारण परिमाणात्मक ढंगले लुटिएको खाद्यान्न सामाग्री फिर्ता नआएको आरोप लगाउनुभयो ।
व्यापार कम्पनीका प्रमुख सुनारका अनुसार स्थानीय जनप्रतिनिधिको सहयोगमा लुटिएको सामाग्री फिर्ता गराउन पहल गरिने जनाउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सिरहाले २६ भदौमा सात दिनभित्र लुटिएको सामाग्री फिर्ता गर्न पत्राचार गरिएको थियो ।




















