लहान,जेठ ५ गते । सिरहाको लहान नगरपालिका १ स्थित पशुपति आदर्श माविले पसलका लागि सटर भाडामा लगाउने नाउँमा व्यापारीहरुसँग उठाएको करोडौं रुपैयाँ भ्रष्टाचार भएको विषयमा नेपाली काँग्रेसका नेता पद्मनारायण चौधरीलाई जोडिएर बदनाम गराउन खोजिएकामा नेपाल थारु संघले आपत्ति जनाएको छ ।
संघका अध्यक्ष अजय कुमार चौधरीले विज्ञप्ती जारी गर्नुका साथै लहानमा पत्रकार सम्मेलन गरी काँग्रेस नेता चौधरीलाई भ्रष्टाचारमा जोडिएर बदनाम गराउन खोजेकोमा आपत्ति जनाएका हुन् । उनले विद्यालयले व्यापारीबाट रकम उठाएको र खर्च गरिएको बेला विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चौधरी नरहेको दावी गरेका छन् ।
उनले टुडेखोजसहितका केहि सञ्चारमाध्यमले सम्प्रेशन गरेको समाचारमा विद्यालयका तत्कालिन प्रधानाध्यापक प्रमेश्वर रायले नेता चौधरीलाई चुनावमा खर्च गर्न रकम दिएको भनिएको कुरा पनि झुठो रहेको पनि दावी गरे । उनले अख्तियारले अनुसन्धान गरिरहेको र अदालतबाट मुद्दा सटआउट भइसकेको अवस्थामा नेता चौधरीलाई जोडेर समाचार सम्प्रेशन गरिएकोमा दुःख व्यक्त गरे ।
संघका अध्यक्ष चौधरीले अख्तियारले अनुसन्धानको क्रममा राय मागेको पत्र लहान नगरपालिकाले लिक (आउट) गरेको भन्दै सो विषयमा आवश्यक छानविन गरी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।