सिरहा,चैत्र ३१ गते । सिरहाको लहान नगरपालिका वडा नं.१२ र २२ स्थित भोलि सोमबार वैशाख एक गते लाग्ने फुलबारी मेलाको सम्पूर्ण तयारी पूरा भएको मेला समितिले जनाएको छ ।
प्रत्येक नयाँ वर्षको वैशाख १ गते मात्र फुल्ने आकर्षक एवम् मनमोहक फुल हेर्र्न देश विदेशबाट आउने असंख्यक दर्शनार्थीहरुको व्यवस्थापनको लागि सम्पूर्ण तयारी भइसकेको मेला समितिका सचिव रामकुमार चौधरीले वताउनुभयो ।
सिरहा जिल्लाको मुख्य व्यापारिक नगरी लहान बजारबाट चार किलोमिटर पश्चिममा पर्ने सलहेश फुलबारीमा वैशाख एक गते हारमको बोटमा फुल्ने माला आकारको अलौकिक फुल हेर्न श्रद्धालु भक्तजनहरुको ओइरो नै लाग्ने गरेको छ ।
१४ औं शताब्दीका साहसिक राजा सलहेश गाथासँग गाँसिएको सलहेश फुलबारी राजा सलहेशको फुल टिप्ने र प्रणय स्थलको रुपमा समेत रहेको फुलबारीमा प्रत्येक नयाँ वर्ष वैशाख १ गते फुल्ने माला आकारको फुललाई सलेहश र मालिनीको प्रेमको प्रतिकको रुपमा समेत मानिन्छ ।
साँचो मनले भाकल गरे मनोकामना पूरा हुने जनविश्वास रहेकाले समेत श्रद्धालुहरु आइरिने गरेको जनाइएको छ ।